सीआईबीको स्वीप अपरेशन, याैन व्यवसायमा लागेकासहित ५८ विदेशी नागरिक पक्राउ

काठमाडौं, ७ असाेज । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा ५८ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भिसा अवधि नाघेका तथा नेपालमा प्रवेश गर्दा उल्लेख गरिएको प्रयोजनविपरीत गतिविधिमा संलग्न विदेशी नागरिक छन्।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार एक प्रयोजनका लागि नेपाल प्रवेश गरी अन्य गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा व्यावसायिक यौनकर्ममा संलग्न महिलादेखि विभिन्न क्षेत्रमा मजदुरी गरिरहेका विदेशी नागरिकसम्म छन्।

पक्राउ पर्नेमा चीन, लाओस, भियतनाम र बंगलादेशका नागरिक रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बंगलादेशका चार र चीनका एक नागरिकलाई भिसा अवधि नाघेको पाइएपछि अध्यागमन कार्यालयमा बुझाएको छ।

बंगलादेशका नागरिकहरू भिजिट भिसामा नेपाल आएर गार्मेन्ट उद्योगमा मजदुरी गरिरहेको अवस्थामा भेटिएका थिए। यस्तै, चिनियाँ नागरिक भिसा अवधि गुजारेर अनलाइन सट्टेबाजीमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, लाओस र भियतनामका केही महिला काठमाडौंको ठमेल तथा दरबारमार्ग क्षेत्रमा व्यावसायिक यौनकर्ममा संलग्न रहेको पाइएको सीआईबीले जनाएको छ। उनीहरूले विभिन्न नाइट क्लब, पब तथा बारलाई सम्पर्कस्थल बनाएर स्वदेशी तथा विदेशी ग्राहकसँग रकम लिने गरेको एआईजी चतुर्वेदीले बताए।

पक्राउ परेकामध्ये ४१ जनालाई प्रहरी वृत्त दरबारमार्ग र १७ जनालाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखिएको छ। उनीहरूमाथि सीआईबी, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा मानव बेचबिखन अनुसन्धान ब्यूरोले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *