ल्यान्डफिल साइटको बाटो प्रभावित भएपछि काठमाडौँ महानगरकाे फोहोर बाहिर नफाल्न अनुरोध
काठमाडौँ, ९ असोज । अविरल वर्षाका कारण ल्यान्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले नगरवासीलाई घरको फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ।
शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महानगरले निरन्तरको वर्षाका कारण फोहोर ढुवानी गर्ने सडक तथा ल्यान्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेकाले विसर्जन कार्यमा गम्भीर असहजता उत्पन्न भएको जनाएको हो।
सूचनामा केही समयका लागि फोहोर सङ्कलन तथा ढुवानी प्रभावित हुनसक्ने भएकाले महानगरवासी, घरधनी, व्यवसायी र सम्बन्धित सबैलाई आफ्नो घर, पसल तथा कम्पाउन्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल वा खोला–नालाजस्ता खुला स्थानमा नफाल्न आग्रह गरिएको छ।
फोहोर सङ्कलन सेवा नियमित नहुञ्जेलसम्म सम्भव भएसम्म फोहोरलाई आफ्नै घर वा परिसरभित्रै सुरक्षित रूपमा राख्न तथा सड्ने (जैविक) र नसड्ने फोहोर छुट्ट्याएर व्यवस्थापन गर्न महानगरले निर्देश दिएको छ। सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्ने भएकाले विशेष सावधानी अपनाउन आह्वान गरिएको छ।
मौसममा सुधार आई वर्षा रोकिने र ल्यान्डफिल साइटको अवस्था सामान्य हुनासाथ फोहोर सङ्कलन तथा ढुवानी सेवा पुनः नियमितरूपमा सुचारु गरिने वातावरण व्यवस्थापन विभागले जनाएको छ।
