अस्थायी टेन्टमा बसेका बाढीपीडितलाई वर्षाले थप सास्ती
त्रिशूली, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट विस्थापित भएर अस्थायी टेन्टमा बस्दै आएका परिवार निरन्तरको वर्षाका कारण थप समस्यामा परेका छन्।
बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि जारी रहँदा खुला स्थानमा बनाइएका अस्थायी टहरा तथा टेन्टमा पानी पसेको छ। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री जोगाउनसमेत समस्या भएको प्रभावित परिवारले बताएका छन्।
रसुवाबाट विस्थापित भई नुवाकोटमा बस्दै आएका उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मानसिंह तामाङका अनुसार छानाबाट चुहिएको पानीसँगै जमिनबाट बगेको भल टेन्टभित्र पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको छ।
रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न स्थानमा बसोबास गरिरहेका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका–५, बाणाचौतारोमा अस्थायी टेन्टमा बस्दै आएका छन्।
बाणाचौतारोमा बस्दै आएका दावामिङ्मार तामाङले टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ताकपडा भिजेको बताए। जमिन हिलाम्मे हुनुका साथै चिसो बढ्दा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको उनको भनाइ छ।
वर्षाका कारण प्रभावितको अवस्था थप कठिन भएपछि नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले टेन्टमा त्रिपाल ओढाउने र पानीको निकास बनाउने काम थालेको छ। शाखाका मन्त्री उद्धव शर्मा रिजालका अनुसार बाणाचौतारोसहित जिल्लाका पाँच स्थानमा स्वयंसेवक परिचालन गरी टेन्टमा पानी पस्न नदिन आवश्यक व्यवस्थापन भइरहेको छ।
उनका अनुसार शुक्रबार साँझसम्म सबै स्थानमा रहेका प्रभावितका टेन्टमा त्रिपाल लगाउने लक्ष्य राखिएको छ।
निरन्तरको वर्षाले बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाउने, सामग्री निकाल्ने तथा खोज तथा उद्धारको कामसमेत प्रभावित भएको छ। विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार त्रिशूली बजार तथा नदीपारि बाढीले पुरिएका संरचनामा खोज तथा उद्धार गर्न वर्षाका कारण कठिनाइ भइरहेको छ।
बाढीले पुरिएका संरचनाबाट सुरक्षित सामग्री निकाल्न प्रभावित परिवारलाई विदुर नगरपालिका तथा विभिन्न सङ्घसंस्थाले सहयोग गरिरहेका छन्। तर, निरन्तरको वर्षाले भग्नावशेष र आसपासको क्षेत्र हिलाम्मे बनेपछि उद्धार तथा सामग्री निकाल्ने काम प्रभावित भएको नगरप्रमुख श्रेष्ठले बताए।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट नुवाकोटमा २ हजार १०० भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भई घरबारविहीन भएका छन्। भाडामा बस्ने तथा व्यवसाय सञ्चालन गर्दै आएका परिवारसमेत जोड्दा बाढीपछि जिल्लामा २ हजार ५०० भन्दा बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ।
बाढीपछि केही परिवारले घर तथा पुरिएका संरचनाबाट सामान निकाल्न सफल भए पनि धेरै परिवार अझै अस्थायी संरचना र राहत सामग्रीको भरमा बस्दै आएका छन्। लगातारको वर्षाले चिसो बढेपछि विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी तथा बिरामी थप प्रभावित भएका छन्।
