भोटेकोशी बाढीको एक महिना :१ हजार ४५३ को मृत्यु ५ हजार ५५० अझै बेपत्ता, बाढीको घाउ उस्तै, हजारौँ परिवार प्रभावित

काठमाडौँ, १० असोज । रसुवाको भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीको एक महिना पूरा भएको छ। गत भदौ १० गते बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीबाट हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन्। बाढी प्रभावितमध्ये १३ हजार ७९५ जनाको उद्धार गरिएको छ।

खोज, उद्धार, राहत तथा अन्य मानवीय सेवामा तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन्। उद्धार गरिएका तथा विस्थापित प्रभावितमध्ये कतिपय अझै अस्थायी आश्रयस्थलमा बसिरहेका छन्।

४ खर्बभन्दा बढीको क्षति
बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ। द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ।

विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। यस्तै ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ।

बाढीले ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य आयोजना प्रभावित भएका छन्। ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त हुँदा ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको र त्यसमध्ये ३३ वटा बगेका छन्। ६८ वटा झोलुंगे पुलमा समेत क्षति पुगेको छ।

करिब ८ हजार ३०० घरपरिवार र ४० हजार जनसंख्या प्रभावित भएका छन्। कृषि क्षेत्रमा १ हजार ८०६ हेक्टर बालीमा क्षति पुगेको छ भने पशुपालन, पंक्षीपालन र माछापालन पनि प्रभावित भएका छन्। बाढीबाट १७ बैंक शाखा र करिब ४ हजार ८०० व्यापारिक प्रतिष्ठानमा समेत असर परेको छ।

खोज, उद्धार र पुनर्निर्माण जारी
बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका काम जारी छन्। क्षतिग्रस्त झोलुंगे पुल पुनर्निर्माण तथा सडक सञ्जाल पुनःस्थापना गरी प्रभावित क्षेत्रलाई आवागमनमा जोड्ने कामसमेत अघि बढाइएको छ।

बाढी आएको तत्कालै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाउँदै प्रभावित जिल्लाका शाखा तथा स्वयंसेवक परिचालन गरेको थियो। अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) को आपत्कालीन सहयोग कोष (डीआरआईएफ) मार्फत १२ लाख अमेरिकी डलर तत्कालीन प्रतिकार्यका लागि परिचालन गरिएको जनाइएको छ।

रेडक्रसका अनुसार उक्त सहयोगबाट खानेपानी, टेन्ट, त्रिपाल, कम्बल, म्याट्रेस, प्राथमिक उपचार सामग्री, स्ट्रेचर, शव व्यवस्थापनका सामग्री, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, आपत्कालीन स्वास्थ्य सेवा र सरसफाइ सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन सहज भएको थियो।

आईएफआरसीका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले तत्काल स्रोत परिचालन भएकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली छिटो पुग्न सकेको बताउनुभएको छ। उहाँले भोटेकोशी बाढीको प्रतिकार्यलाई जलवायु संवेदनशील मानवीय प्रतिकार्यको एउटा महत्वपूर्ण नमुनाका रूपमा विकास गर्न सकिने बताउनुभएको छ।

नेपाल रेडक्रसका अनुसार एक महिनाको अवधिमा १ हजार २१८ सेट आवास तथा गैरखाद्य सामग्री, ५६३ त्रिपाल, ७०१ म्याट्रेस र १ हजार ३२४ कम्बल वितरण गरिएको छ। करिब २ हजार प्रभावित परिवारलाई खाद्य सामग्रीसमेत उपलब्ध गराइएको छ।

यस्तै २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याइएको छ। १८ वटा पानी ट्याङ्की व्यवस्थापन गर्नुका साथै आवश्यक स्थानमा ट्याङ्करमार्फत पानी वितरण गरिएको छ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगबाट १ हजार ७१० प्रभावित लाभान्वित भएका छन्। रेडक्रसको आपत्कालीन स्वास्थ्य क्लिनिकमार्फत १ हजार २३९ जनालाई स्वास्थ्य परीक्षण, औषधि तथा अन्य सेवा उपलब्ध गराइएको छ।

परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनाअन्तर्गत २ हजार २९१ खोजतलाससम्बन्धी केसमा सेवा तथा सहजीकरण गरिएको छ। नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई शव व्यवस्थापनका लागि २ हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको रेडक्रसले जनाएको छ।

बहुउद्देश्यीय नगद तथा भौचर सहायता कार्यक्रमअन्तर्गत तत्कालीन आवश्यकता पूरा गर्न धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग उपलब्ध गराइएको छ।

समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा प्रदान गरिएको छ।

संरक्षण, लैङ्गिक तथा समावेशीकरण कार्यक्रमअन्तर्गत ५८७ मर्यादा किट र १ हजार ८७ स्वच्छता किट वितरण गरिएको छ। बालमैत्री सुरक्षित स्थानमार्फत १ हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराइएको छ।

प्रभावित समुदायलाई सूचना तथा सहजीकरणका लागि विभिन्न १७ स्थानमा सहायता तथा सूचना कक्ष सञ्चालन गरिएको छ। बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, परिवार पुनर्मिलन, राहतमा पहुँच र नगद सहायता लगायतका विषयमा सूचना सामग्री तयार गरी सामाजिक सञ्जाल तथा रेडियोमार्फत प्रचार गरिएको छ।

नेपाल रेडक्रसले विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने जनाएको छ।

प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको रेडक्रसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *