नारायणीमा बाढी खतराको तहभन्दा १.८ मिटर माथि, देवघाटमा उच्च जोखिम
काठमाडौं, ११ असोज । नारायणी नदीमा बाढीको बहाव निरन्तर बढिरहेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रमा नदीको जलसतह १०.८ मिटर पुगेको छ, जुन खतराको तहभन्दा १.८ मिटर माथि हो।
बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटमा नारायणी नदीको चेतावनी तह ७.४ मिटर र खतराको तह ९ मिटर हो। जलसतह खतराको तह पार गरेपछि नदी आसपासका क्षेत्रमा डुबानको जोखिम बढेको महाशाखाले जनाएको छ।
नदीको बहाव अझै बढिरहेको भन्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले सुरक्षित रहन भनिएको छ।
यस्तै, पर्वतको कालीगण्डकी, लमजुङको चेपेखोला, म्याग्दीको मंगलघाट र चितवनको रिउखोलामा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार खतराको तह पार गरेका यी सबै मापन केन्द्र नारायणी नदी बेसिनअन्तर्गत पर्छन्। नदीको बहाव बढ्दो क्रममा रहेकाले साँझसम्म पनि सतर्कता अपनाउन आग्रह गरिएको छ।
