कालीगण्डकीको बाढीले पर्वतमा पाँच घर बगायो, बस्ती जोखिममा
पर्वत, ११ असोज । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से र लस्ती बजारका पाँच घर बगाएको छ। बाढीका कारण आसपासका कैयौँ घरसमेत जोखिममा परेका छन्।
जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
गएरातिदेखि कालीगण्डकी नदीको जलसतह निरन्तर बढेपछि तटीय क्षेत्रका बासिन्दामा त्रास बढेको छ। नदीको बाढीले म्याग्दी, पर्वत र बागलुङका विभिन्न तटीय क्षेत्रमा कटानसमेत गरेको छ।
कालीगण्डकीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
