नारायणगढ–मुग्लिन सडकमा त्रिशूलीको कटान, सिमलतालमा सडक भासियो, सडक एकतर्फी
चितवन, ११ असाेज । त्रिशूली नदीको तीव्र बहावले सडक कटान गरेपछि नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा सडक अवरुद्ध भएको छ।
आज बिहान नदीको बहावले सडकको करिब आधा भाग कटान गरी बगाएपछि उक्त स्थानमा यातायात एकतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडक भासिएको जानकारी प्राप्त हुनासाथ सडक डिभिजनको टोली घटनास्थलमा परिचालन गरिएको छ। सडक मर्मतको कामसमेत सुरु भइसकेको डिभिजनले जनाएको छ।
सडकको क्षति मर्मत गरी पूर्णरूपमा यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने अनुमान गरिएको छ। नदीको बहाव तीव्र रहेकाले उक्त सडकखण्डमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
