कालीगण्डकीले पुल बगाउँदा म्याग्दीका तीन वडा र मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद

म्याग्दी, ११ असोज । कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पुल बगाउँदा तीन वडा र मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो।

पुल बगाएपछि अन्नपूर्ण गाउँपालिका–२, ३ र ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कसमेत विच्छेद भएको छ।

यसैबीच, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एउटा र वडा नम्बर ३ को फगाममा अर्को घर पहिरोमा पुरिएको छ। पुरिएका घरमा रहेका दुई जनाको खोजी कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ।

बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ। यस्तै, अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *