त्रिभुवन विमानस्थलमा ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, १२ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शौकत मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौँ आएका थिए । गएराति विमानस्थलमा अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको देखिएपछि प्रहरीले शङ्का लागेर उनको जाँच गरेको थियो ।

जाँचका क्रममा अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा ४२२ दशमलव ५ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शौकतलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रवक्ता सिलवालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *