चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ५४२ विपद्का घटना

काठमाडौं, १३ असोज । असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि देशभर ५४२ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार ती घटनामा २७ जनाको मृत्यु, चार जना बेपत्ता र आठ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार वर्षाजन्य विपद्बाट १ हजार ८२ परिवार प्रभावित भएका छन् भने ११४ वटा पशुचौपायामा क्षति पुगेको छ ।

चार दिनको अवधिमा पहिरोका ३०४ घटना भएका थिए । पहिरोमा परी २० जनाको मृत्यु, चार जना बेपत्ता र सात जना घाइते भएका छन् । त्यस्तै, बाढीका ८७ घटनामा चार जनाको मृत्यु भएको छ ।

भारी वर्षासँग सम्बन्धित १५१ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणले जनाएको छ । वर्षाका कारण २२७ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोबाट ३१ वटा पुलमा समेत क्षति पुगेको छ ।

प्राधिकरणका अनुसार असोज ८ देखि ११ गतेसम्म देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।

सबैभन्दा धेरै वर्षा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४ दशमलव २ मिलिमिटर मापन भएको थियो । कास्कीको पञ्चासेमा ५०० दशमलव २ मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन भएको प्राधिकरणले जनाएको छ ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण उक्त अवधिमा देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको प्राधिकरणको भनाइ छ ।

करिब दुई हजारको उद्धार
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वर्षाजन्य विपद्का कारण जोखिममा परेका करिब दुई हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

जाजरकोट, म्याग्दी र बागलुङलगायत दुर्गम जिल्लामा बाढीपहिरोमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । खोज, उद्धार तथा राहत कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालित भएका थिए ।

महतका अनुसार असोज ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जोखिममा रहेका ७८ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । जाजरकोटमा भेरी नदीबीचको टापुमा फसेका चार जनाको समेत हवाई उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *