रसुवाका १३ बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा, १३ असोज । भोटेकोशी बाढीपछि प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न स्थानमा स्थापना गरिएका १३ बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित छन् ।

नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना तथा सञ्चालनका लागि सहजीकरण गरेको हो । विपद्बाट प्रभावित बालबालिकालाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो ।

स्थापना गरिएका १३ केन्द्रमध्ये नौ वटा पूर्णरूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी चार वटा सञ्चालनको क्रममा छन् । सञ्चालनमा रहेका केन्द्रमा बालबालिकाको उमेर र आवश्यकताअनुसार खेलकुद, मनोरञ्जन, सिकाइ, सिर्जनात्मक गतिविधि तथा मनोसामाजिक सहयोगसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् ।

केन्द्रले विपद्पछिको कठिन परिस्थितिमा बालबालिकालाई सुरक्षित र सकारात्मक वातावरणमा आफ्ना भावना व्यक्त गर्न, साथीहरूसँग घुलमिल हुन तथा रचनात्मक गतिविधिमा सहभागी हुन अवसर दिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

हाल केन्द्रमा २१९ बालक र २४३ बालिका सहभागी छन् । उमेर समूहअनुसार पाँच वर्षभन्दा कम उमेरका ८८ जना र पाँच वर्षभन्दा माथिका ३७४ जना बालबालिका रहेका छन् ।

केन्द्रमा सहभागी बालबालिकामध्ये एक जना अपाङ्गता भएका बालबालिका रहेको नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *