प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक कार्यसूचीमा

काठमाडौं, १४ असोज । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेदेखि विधेयक पारित गर्ने प्रस्तावसम्म कार्यसूचीमा छन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक यसअघि राष्ट्रियसभाबाट पारित भइसकेको संसद्को अभिलेखमा उल्लेख छ ।

यसैबीच, आजै चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *