गौतमबुद्ध विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा
अन्तरराष्ट्रिय उडानका लागि सरकारसँग आग्रह
काठमाडौँ, असोज १४ । राज्यको ठूलो लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेपछि रुपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा चिन्ता बढेको छ । विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा अन्य व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तरराष्ट्रिय उडानका लागि सरकारसँग निरन्तर आग्रह गर्दै आएका छन् ।
विमानस्थल निर्माणमा राज्यले करिब ३५ अर्ब रुपियाँ लगानी गरेको छ । विमानस्थल सञ्चालनमा आउने र नियमित अन्तरराष्ट्रिय उडान हुने अपेक्षामा भैरहवा तथा आसपासका क्षेत्रमा निजी क्षेत्रले होटल, पर्यटन पूर्वाधार, यातायातलगायतका क्षेत्रमा ठूलो लगानी गरे पनि अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको व्यवसायीको भनाइ छ । उनीहरूले विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन विभिन्न समयमा सरकार, पर्यटन मन्त्रालय, सङ्घीय सांसद तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।
पर्यटन व्यवसायी तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेको लगानी राज्यको लगानीभन्दा दोब्बर बढी छ । “विमानस्थल सञ्चालनमा आउँछ, नियमित अन्तरराष्ट्रिय उडान हुन्छ र लुम्बिनीमा पर्यटकको आगमन बढ्छ भन्ने विश्वासमा निजी क्षेत्रले लगानी गरेको हो । तर, लामो समयदेखि नियमित उडान नहुँदा लगानीबाट अपेक्षित प्रतिफल आउन सकेको छैन”, उहाँले भन्नुभयो ।
विमानस्थल सञ्चालनमा आएदेखि नै व्यवसायीले विभिन्न सरकारसँग अन्तरराष्ट्रिय उडान नियमित गराउन आग्रह गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवासमक्ष समेत व्यवसायीले कम्तीमा एउटा वायुसेवाबाट नियमित उडान सुरु गराउन माग राखेका थिए । विभिन्न समयमा केही वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गरे पनि ती उडान निरन्तर हुन सकेनन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रले निरन्तर दबाब दिँदै आए पनि समस्या समाधान हुन नसकेको बताउनुभयो । पछिल्लो राजनीतिक परिवर्तनपछि भने नयाँ सरकारबाट विमानस्थल सञ्चालनका विषयमा निजी क्षेत्रमा आशा पलाएको उहाँको भनाइ छ । “यति ठूलो सम्भावना बोकेको विमानस्थलमा कम्तीमा एउटा वायुसेवाको नियमित उडान सञ्चालन गर्न सरकारले पहल गर्न सक्छ । तर, विगतमा त्यो हुन सकेन”, उहाँले भन्नुभयो, “नयाँ सरकार बनेपछि केही आशा पलाएको छ । सरकारले भैरहवाको विमानस्थललाई प्राथमिकतामा राखेर पहल गर्नुपर्छ ।”
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कार्यभार सम्हालेपछि रुपन्देहीका पर्यटन तथा उद्योग व्यवसायीले विमानस्थल सञ्चालनको विषय पुनः उठाएका छन् । व्यवसायीका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसम्म भेट गरी विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन् ।
यसैबीच पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले सेप्टेम्बर २३ देखि दुबई–पोखरा दैनिक उडान सुरु गरेको छ । बोइङ ७३७ म्याक्स–८ विमानमार्फत सुरु भएको उक्त उडानपछि पश्चिम नेपालका अन्तरराष्ट्रिय विमानस्थलबाट हवाई सम्पर्क विस्तारको सम्भावनाबारे चासो बढेको छ । पोखरामा नियमित अन्तरराष्ट्रिय उडान सुरु भएपछि भैरहवाका व्यवसायीले गौतमबुद्ध विमानस्थलबाट पनि नियमित उडान सुरु हुने अपेक्षा गरेका छन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट हालसम्म ६९ हजार ३७७ यात्रुले अन्तरराष्ट्रिय हवाई सेवा लिएका छन् । यस अवधिमा एक हजार २२२ वटा सेड्युल तथा चार्टर अन्तरराष्ट्रिय उडान भएका छन् । ती उडानबाट विभिन्न मुलुकबाट ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु बाहिरिएका छन् ।
विमानस्थलबाट पछिल्लोपटक सन् २०२६ मार्च २५ मा थाइ एयर एसियाले बैङ्कक–भैरहवा र भैरहवा–बैङ्कक उडान गरेको थियो । उक्त उडानबाट बैङ्ककबाट १४ यात्रु भैरहवा आएका थिए भने भैरहवाबाट १०६ यात्रु बैङ्कक गएका थिए । विमानस्थलका सूचना अधिकारी पवन अग्रहरीका अनुसार त्यसयता कुनै अन्तरराष्ट्रिय उडान भएको छैन र तत्कालका लागि नयाँ उडानको सेड्युलसमेत प्राप्त भएको छैन । “माथिल्लो तहबाट के तयारी भइरहेको छ भन्नेबारे हामीलाई जानकारी छैन । तत्काल अन्तरराष्ट्रिय उडान हुने सेड्युल भने छैन”, उहाँले भन्नुभयो ।
अन्तरराष्ट्रिय वायुसेवा आकर्षित गर्न सरकारले पार्किङ, इन्धनलगायतका क्षेत्रमा विभिन्न छुट तथा सहुलियतको व्यवस्था गरे पनि यात्रुलाई आवश्यक कतिपय सेवा विमानस्थलबाट सहज रूपमा उपलब्ध हुन नसकेको व्यवसायीको गुनासो छ । भिसा सेन्टर, नो अब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण, बिमा तथा म्यानपावरसम्बन्धी सेवा सम्बन्धित कार्यालयबाट उपलब्ध हुन नसक्दा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक वातावरण पूर्णरूपमा तयार हुन नसकेको उनीहरूको भनाइ छ ।
व्यवसायीले गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनमा आए लुम्बिनी आउने विदेशी पर्यटकको सङ्ख्या बढ्नुका साथै होटल तथा पर्यटन व्यवसाय विस्तार, रोजगारी सिर्जना र भैरहवा आसपासको व्यापारिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरेका छन् । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले समेत सङ्घीय संसद्मा पटकपटक विमानस्थल सञ्चालनको विषय उठाउँदै आए पनि नियमित अन्तरराष्ट्रिय उडानको ठोस आधार बन्न नसकेको व्यवसायीको भनाइ छ ।
विमानस्थलको धावनमार्ग, टर्मिनल भवनलगायत प्रमुख पूर्वाधार तयार छन् भने निजी क्षेत्रले होटल तथा अन्य पर्यटन पूर्वाधारमा समेत लगानी गरिसकेको छ । तर, नियमित अन्तरराष्ट्रिय उडान नहुँदा तयार पूर्वाधारको पूर्ण क्षमतामा उपयोग हुन सकेको छैन । अहिले रुपन्देहीको निजी क्षेत्रको मुख्य चासो विमानस्थल निर्माणभन्दा पनि नियमित अन्तरराष्ट्रिय उडान कसरी सुनिश्चित गर्ने भन्नेमा केन्द्रित छ ।
लुम्बिनी बुद्धको जन्मस्थल हुनुका साथै पश्चिम नेपालका प्रमुख पर्यटकीय गन्तव्यसँग जोडिएको क्षेत्र भएकाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई नियमित अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्न सके त्यसको प्रभाव पर्यटनसँगै रुपन्देहीको उद्योग, व्यापार र सेवा क्षेत्रमा समेत पर्ने व्यवसायीको अपेक्षा छ । राज्यको ठूलो लगानी, निजी क्षेत्रको लगानी र लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटन सम्भावनालाई जोडेर हेर्दा अब विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि ठोस पहलको प्रतीक्षा भइरहेको छ ।
