मोरक्कोमा पहिलो महिला प्रधानमन्त्री नियुक्त, एल मन्सुरी बनिन् अरब विश्वकै दोस्रो महिला प्रधानमन्त्री
सन् २०२१ अक्टोबरमा राष्ट्रिय सरकारमा प्रवेश गरेकी एल मन्सुरीलाई राष्ट्रिय स्थानिक योजना, सहरी विकास, आवास तथा सहरी नीतिमन्त्री नियुक्त गरिएको थियो। मन्त्रीका रूपमा उनले प्रत्यक्ष आवास सहायता कार्यक्रम, सहरी योजना तथा क्षेत्रीय विकाससम्बन्धी सुधार र अल हाउज भूकम्प प्रभावितको पुनःस्थापनालगायतका विषयमा काम गरेकी थिइन्।
काठमाडौं । मोरक्कोका राजा मोहम्मद छैटौँले फातिमा एझहरा एल मन्सुरीलाई देशको पहिलो महिला प्रधानमन्त्री नियुक्त गरेका छन्। उनी अरब विश्वमा प्रधानमन्त्री बन्ने दोस्रो महिला बनेकी छन्।
राजदरबारले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार ५० वर्षीया एल मन्सुरीलाई नयाँ सरकार गठनको जिम्मेवारी दिइएको छ। उनी यसअघि राष्ट्रिय स्थानिक योजना, सहरी विकास तथा आवासमन्त्री र माराकेशकी मेयरका रूपमा कार्यरत थिइन्।
आफ्नो नियुक्तिपछि टेलिभिजनमार्फत सम्बोधन गर्दै एल मन्सुरीले आफ्नो नियुक्तिलाई ‘ऐतिहासिक’ घटना बताइन्।
“मोरक्कोको इतिहासमा पहिलोपटक एक महिलाले सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएकी छन्। यो मेरो मात्र नभई सम्पूर्ण मोरक्कन महिलाका लागि गर्वको विषय हो,” उनले भनिन्।
गत साता सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएको चार दिनपछि एल मन्सुरी प्रधानमन्त्री नियुक्त भएकी हुन्। राजतन्त्रनिकट अथेन्सिटी एन्ड मोडर्निटी पार्टी (PAM) ले ३९५ सदस्यीय प्रतिनिधिसभामा ९७ सिट जित्दै सबैभन्दा बढी मत प्राप्त गरेको थियो।
तर सरकार गठनका लागि आवश्यक १९८ सिटभन्दा PAM निकै पछाडि रहेकाले एल मन्सुरीले विभिन्न दललाई समेटेर गठबन्धन सरकार बनाउनुपर्नेछ। यही उनको प्रधानमन्त्रीका रूपमा पहिलो प्रमुख चुनौती हुनेछ।
सन् २००८ मा राजा मोहम्मद छैटौँका निकट सहयोगी फुआद अली एल हिम्माले स्थापना गरेको PAM ले सबै राजनीतिक दलसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। तर जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (PJD) तथा फेडरेसन अफ डेमोक्रेटिक लेफ्टलगायत केही दलले भने विपक्षमा बस्ने घोषणा गरेका छन्।
नयाँ गठबन्धन सरकारले सन् २०३० को फिफा विश्वकपलाई लक्षित गर्दै हुने अर्बौँ डलर बराबरका पूर्वाधार तथा अन्य लगानीको प्राथमिकता र बजेटसम्बन्धी निर्णयसमेत गर्नेछ। विश्वकप मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रूपमा आयोजना गर्दैछन्।
एल मन्सुरी अरब विश्वमा प्रधानमन्त्री बन्ने दोस्रो महिला हुन्। यसअघि ट्युनिसियाकी नजला बुदेन सन् २०२१ अक्टोबरदेखि २०२३ अगस्टसम्म प्रधानमन्त्री बनेकी थिइन्।
सन् १९७६ मा माराकेशमा जन्मिएकी एल मन्सुरीले कानुन अध्ययन गरेकी छन्। उनले फ्रान्सको युनिभर्सिटी अफ मोन्टपेलियरबाट एड्भान्स्ड स्टडिजमा डिप्लोमा तथा अमेरिकाको न्युयोर्क युनिभर्सिटीबाट एङ्ग्लो–स्याक्सन बिजनेस लमा डिप्लोमा हासिल गरेकी छन्।
उनी सन् २००९ मा माराकेशको मेयर निर्वाचित हुँदै उक्त सहरको पहिलो महिला मेयर बनेकी थिइन्। पहिलो कार्यकाल पूरा गरेपछि सन् २०२१ को निर्वाचनमार्फत उनी पुनः माराकेश नगर परिषद्को नेतृत्वमा फर्किइन्। उनी लगातार विभिन्न कार्यकालमा प्रतिनिधिसभा सदस्यसमेत निर्वाचित भएकी थिइन्।
सन् २०२१ अक्टोबरमा राष्ट्रिय सरकारमा प्रवेश गरेकी एल मन्सुरीलाई राष्ट्रिय स्थानिक योजना, सहरी विकास, आवास तथा सहरी नीतिमन्त्री नियुक्त गरिएको थियो। मन्त्रीका रूपमा उनले प्रत्यक्ष आवास सहायता कार्यक्रम, सहरी योजना तथा क्षेत्रीय विकाससम्बन्धी सुधार र अल हाउज भूकम्प प्रभावितको पुनःस्थापनालगायतका विषयमा काम गरेकी थिइन्।
