राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती

त्रास र अनिश्चितताको अवस्था क्रमशः आशा र भरोसामा परिणत

काठमाडौँ, असोज १४ । राप्ती नदीमा निर्माण गरिएको पक्की तटबन्धका कारण बाँकेको तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिन बाढी र नदी कटानबाट जोगिन थालेका छन् । वर्षौँदेखि राप्ती नदीको डुबान र कटानको जोखिममा रहेका बस्तीमा तटबन्ध निर्माणपछि स्थानीयवासीमा त्रास र अनिश्चितताको अवस्था क्रमशः आशा र भरोसामा परिणत हुन थालेको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । तीन किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै सयौँ बिघा खेतीयोग्य जमिन जोगिनुका साथै हजारौँ स्थानीयको बसोबास सुरक्षित बनेको आयोजनाले जनाएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही, दाङका आयोजना प्रमुख निश्चल छत्कुलीका अनुसार गत आर्थिक वर्षमा बाँकेका विभिन्न जोखिमयुक्त स्थानमा तीन हजार १५० मिटर पक्की र ४०० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको थियो । राप्ती नदीको तीव्र बहावका कारण हरेक वर्ष उर्वर भूमि कटान हुने र बस्ती विस्थापित हुने अवस्था रोक्न उच्च प्राथमिकताका साथ नदी नियन्त्रणका संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।

गत आवमा राप्तीसोनारी गाउँपालिका २ कचनापुरमा एक हजार २०० मिटर, वडा नं ५ बिनौनामा एक हजार ३०० मिटर, वडा नं ७ खल्ला झगडियामा ५०० मिटर र वडा नं ६ ढलैयामा १५० मिटर पक्की तटबन्ध निर्माण भएको थियो । तटबन्ध निर्माणपछि यस वर्ष राप्तीसोनारी २ का कचनापुर, महादेवा र मदुई, वडा नं ६ को फत्तेपुर, वडा नं ७ को खल्ला झगडिया तथा नरैनापुर ५ र ६ अन्तर्गतका बस्ती बाढीको प्रकोपबाट सुरक्षित भएका छन् ।

आयोजना प्रमुख छत्कुलीका अनुसार गत आवमै राप्तीसोनारीको जरैयामा बेम्बो माइलिङ र चचरी प्रविधिबाट करिब ४०० मिटर अस्थायी नदी नियन्त्रणको कामसमेत गरिएको थियो । “यो वर्ष पनि हामीले काम सुरु गरिसकेका छौँ, तटबन्धका लागि ढुङ्गा जम्मा गर्ने काम भएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष निर्माण सम्पन्न भएको पक्की तटबन्धले यो वर्ष गाउँबस्ती सुरक्षित भएका छन् ।”

तटबन्ध निर्माण हुनुअघि राप्तीसोनारीको खल्ला झगडिया र देउपुर्वा तथा नरैनापुर गाउँपालिकाका गङ्गापुर, सोनवर्षा, कुदर वेटवा र कुडुवालगायतका बस्ती राप्ती नदीको उच्च जोखिममा थिए । सामान्य वर्षा हुँदा समेत नदी बस्तीमा पस्ने त्रासका कारण स्थानीयवासी रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको थियो ।

राप्तीसोनारी ७ का वडाध्यक्ष रामलखन थारूका अनुसार केही दिनअघि परेको भारी वर्षा र राप्तीमा आएको बाढीका बाबजुद कचनापुर, महादेवा, मदुई, फत्तेपुर, खल्ला झगडिया तथा नरैनापुर ५ र ६ का बस्ती सुरक्षित रहे । “खल्ला झगडियामा निर्माण भएको ५०० मिटरको स्थायी तटबन्धले केही दिनअघिको ठूलो वर्षा र बाढीमा पनि किनारका धेरै गाउँलाई जोगाएको छ”, उहाँले भन्नुभयो, “पहिले पानी पर्नेबित्तिकै भागाभाग हुन्थ्यो, अब भने नदी किनारका बासिन्दामा रातभर जाग्राम बस्नुपर्ने बाध्यता हट्दै जाने ठूलो आशा पलाएको छ ।”

विगतमा निर्माण गरिएका तटबन्ध तथा नदी नियन्त्रणका संरचनाबाट सकारात्मक परिणाम देखिएपछि आयोजनाले चालु आर्थिक वर्षमा पनि तटबन्ध निर्माणलाई निरन्तरता दिएको छ । आयोजना प्रमुख छत्कुलीका अनुसार नयाँ चरणका तटबन्ध निर्माणका लागि निर्माणस्थलमा ढुङ्गा सङ्कलनलगायत प्राविधिक तयारी भइरहेको छ ।

राप्ती नदीको बाढी र कटानबाट जोखिममा रहेका बस्ती तथा खेतीयोग्य जमिनको संरक्षणका लागि तटबन्ध निर्माणले स्थानीयवासीको बसोबास र कृषि क्षेत्र सुरक्षित बनाउन योगदान पुगेको छ । निर्माणाधीन संरचनालाई निरन्तरता दिँदै जोखिमयुक्त अन्य क्षेत्रमा समेत नदी नियन्त्रणका काम विस्तार गर्न सके बाढी र कटानको दीर्घकालीन जोखिम न्यूनीकरणमा सहयोग पुग्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *