गोलभेँडा खेतीले बैदेशिक रोजगारीको आयलाई जित्यो
आम्दानीले जीवन स्तरमा परिवर्तन
काठमाडौँ, असोज १४ । बिहानको घामसँगै हरिवन नगरपालिका ४ सासापुरका महमद अकबर अन्सारीको दिन गोलभेँडा बारीबाट सुरु हुन्छ । खेतमा बेर्ना सार्ने, टनेलमा हुर्किरहेका बिरुवा हेर्ने र बजारको मूल्य बुझ्ने काममा उहाँको दैनिकी बित्छ । चार दशक उमेर पार गर्न लाग्नुभएका अन्सारीका लागि अहिले खेतीपाती केवल गुजारा चलाउने माध्यम होइन, परिवारको भविष्य निर्माण गर्ने व्यवसाय बनेको छ ।
मङ्गलबार दिउँसो हरिवन २ पाकरगाछी नजिकैको खेतमा उहाँ गोलभेँडाका बेर्ना सार्ने तयारीमा व्यस्त हुनुहुन्थ्यो । यस वर्ष सात बिघा खेतमा गोलभेँडा लगाउने तयारीमा रहनुभएका अन्सारीले तीन बिघामा बेर्ना सारिसक्नुभएको छ । थप दुई बिघाका लागि टनेलमा बेर्ना तयार छन् भने बाँकी दुई बिघाका लागि बीउ राख्ने काम भइरहेको छ ।
अन्सारीले अधिकांश खेतमा ‘कविता’ जातको गोलभेँडा लगाउने गर्नुभएको छ । बजारमा माग राम्रो रहेको यो जातप्रति उहाँको विश्वास पनि उत्तिकै छ । आठ वर्षदेखि गोलभेँडाखेतीलाई व्यावसायिक रूपमा अघि बढाइरहनुभएका उहाँले खेतीमा जोखिम भए पनि अहिलेसम्म लगानी डुबेको अनुभव गर्नुपरेको छैन ।
“पाँच वर्षभन्दा बढी समय विदेशमा दुःख गरेँ, त्यसबाट कुनै ठूलो उपलब्धि भएन । त्यसपछि गाउँघरमै पितापुर्खाले अँगालेको व्यावसायिक तरकारीखेती गर्ने योजना बनाएँ, अहिलेसम्म राम्रो छ”, उहाँ भन्नुहुन्छ ।
अन्सारीको वैदेशिक रोजगारीको यात्रा सन् २००९ को अन्त्यतिर सुरु भएको थियो । रोजगारीका लागि कतार पुग्नुभएका उहाँ साढे चार वर्षपछि स्वदेश फर्किनुभयो । देशमै रोजगारीको विकल्प खोज्न कठिन भएपछि फेरि कतार पुग्नुभयो, यसपटक कृषि कामदारका रूपमा । तर, दोस्रोपटकको विदेश बसाइ एक वर्षमै टुङ्गियो । त्यसपछि उहाँले विदेशभन्दा आफ्नै माटोलाई रोज्नुभयो ।
गोलभेँडालगायत हरियो तरकारीखेती सुरु गरेपछि अन्सारीले पछाडि फर्केर हेर्नुपरेको छैन । अहिले चार सन्तानको पढाइदेखि परिवारको दैनिक खर्चसम्मको मुख्य आधार यही खेती बनेको छ । जेठो छोरा भारतमा अध्ययनरत छन् भने अन्य तीन सन्तान नेपालमै पढिरहेका छन् । “मेरो घरखर्चमात्र महिनाको रु एक लाख छ । त्यसका लागि मेरो एकमात्र विकल्प भनेको यही खेतीकिसानी हो”, उहाँ भन्नुहुन्छ ।
खेतीबाट भएको आम्दानीले अन्सारीको जीवन स्तरमा पनि परिवर्तन ल्याएको छ । गत वर्ष उहाँले १० बिघा खेतमा गोलभेँडाखेती गर्नुभएको थियो । त्यसबाट ७५ लाख रुपियाँभन्दा बढीको उत्पादन भएको र बीउबिजन, मलखाद, जग्गा ठेक्का तथा ज्यालालगायत खर्च कटाएर ५० लाख रुपियाँभन्दा बढी मुनाफा भएको उहाँको दाबी छ । यही आम्दानीबाट घरमा एक तला थप्नुभएको छ भने दुई कट्ठा १० धुर घडेरीसमेत जोड्नुभएको छ ।
अन्सारीसँग आफ्नै पाँच कट्ठा मात्र जग्गा छ । बाँकी जग्गा उहाँले हरेक वर्ष ठेक्कामा लिनुहुन्छ । प्रतिबिघा वार्षिक रु ६० हजार भाडा तिर्ने उहाँले वर्षायाममा मकै तथा बाँकी समयमा गोलभेँडा र हरियो तरकारी लगाउनुहुन्छ । मेहनत धेरै भए पनि उत्पादन र बजार राम्रो हुँदा त्यसअनुसारको आम्दानी हुने उहाँको अनुभव छ ।
गोलभेँडाखेतीको अनुभव अन्सारीले परिवारबाटै सिक्नुभएको हो । उहाँका बुबाले ३५ वर्षदेखि गोलभेँडाखेती गर्दै आउनुभएको छ । अहिले उहाँका दाजुभाइ, काका तथा परिवारका अन्य सदस्यले मात्रै ३० बिघाभन्दा बढी क्षेत्रफलमा गोलभेँडाखेती गर्दै आएका छन् । यही अनुभवका आधारमा अन्सारीले खेतीमा नयाँ प्रयोगसमेत गर्दै आउनुभएको छ ।
उहाँले गोलभेँडा एकैपटक लगाउनुहुन्न । १० देखि १५ दिनको अन्तरमा तीनदेखि चार लटमा बेर्ना सार्नुहुन्छ । यसबाट मौसम र बजार मूल्यमा आउने उतारचढावको जोखिम कम हुने उहाँको बुझाइ छ । “एकैपटक सबै लगाउँदा मौसम बिग्रियो वा मूल्य अस्थिर भयो भने सबै उत्पादनमा असर पर्छ । फरक–फरक समयमा लगाउँदा कुनै एउटा लटले भए पनि घाटा पूर्ति गर्न सक्छ”, उहाँको अनुभव छ ।
गोलभेँडाखेतीमा बजारको अवस्था र उत्पादनको समयले किसानको आम्दानीमा ठूलो प्रभाव पार्छ । कच्चा पदार्थका रूपमा रहने गोलभेँडा लामो समय भण्डारण गर्न नसकिने भएकाले उत्पादनको समयमा उचित मूल्य नपाउँदा किसानलाई मर्का पर्ने गरेको अन्सारी बताउनुहुन्छ । विगतमा नेपाल–भारत खुला सीमाबाट ठूलो परिमाणमा गोलभेँडा भित्रिँदा स्थानीय किसान थप समस्यामा परेको उहाँको अनुभव छ । गत वर्षदेखि भारतबाट गोलभेँडा भित्रिने क्रम रोकिएपछि भने स्थानीय उत्पादनले राम्रो मूल्य पाएको उहाँले बताउनुभयो ।
हरिवन २ का किसान मुखचन्द्र महतोका अनुसार उन्नत ‘कविता’ जातको गोलभेँडाको बीउको मूल्य प्रतिप्याकेट एक हजारदेखि एक हजार १०० रुपियाँ सम्म पर्छ । बेर्ना तयार गर्ने, खेत तयारी गर्ने र रोप्ने अवस्थासम्म प्रतिकट्ठा रु १५ हजारदेखि २० हजारसम्म खर्च हुने उहाँ बताउनुहुन्छ । मौसममा हुने परिवर्तन, शीतलहर तथा अन्य प्रतिकूल अवस्थाले उत्पादन लागत बढाउने जोखिम उत्तिकै रहेको उहाँको भनाइ छ ।
समयमै मलखाद नपाउँदा किसानले थप समस्या भोग्नुपरेको महतोको गुनासो छ । आवश्यक समयमा मल नपाएर महँगोमा खरिद गर्नुपर्ने अवस्था आउँदा उत्पादन लागत बढ्ने गरेको उहाँ बताउनुहुन्छ । यसले गोलभेँडाखेतीमा रहेको जोखिमलाई अझ बढाउने गरेको छ ।
यद्यपि, चुनौतीका बीच सर्लाहीको हरिवन र लालबन्दी क्षेत्र गोलभेँडाखेतीका लागि महत्वपूर्ण क्षेत्रका रूपमा विस्तार भइरहेको छ । यहाँ करिब दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेँडाखेती हुँदै आएको छ । स्थानीय कृषि थोकबजारको तथ्याङ्कअनुसार यस क्षेत्रमा वार्षिक १५ हजारदेखि २४ हजार मेट्रिक टनसम्म गोलभेँडा उत्पादन हुने गरेको छ ।
सर्लाहीमा उत्पादित गोलभेँडा स्थानीय बजारमा मात्र सीमित छैन । हेटौँडा, वीरगन्ज, जनकपुर, विराटनगर, बुटवल, भैरहवा, काठमाडौँ र पोखरालगायत देशका प्रमुख सहरसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । स्थानीय बजारसँगै सस उद्योगलगायतका क्षेत्रमा समेत गोलभेँडाको खपत हुने गरेको छ ।
अन्सारीको कथा यही ठूलो कृषि अर्थतन्त्रभित्रको एउटा प्रतिनिधि कथा हो । विदेशमा वर्षौँ श्रम गरे पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि आफ्नै गाउँको माटोमा फर्किएका उहाँ अहिले त्यही माटोबाट परिवारको भविष्य खोजिरहनुभएको छ । कहिलेकाहीँ मौसमले परीक्षा लिन्छ, बजारले चिन्ता थप्छ र उत्पादन लागतले दबाब दिन्छ । तर, खेतमा हुर्किरहेका गोलभेँडाका बिरुवासँगै उहाँको आत्मविश्वास पनि बढिरहेको छ ।
वैदेशिक रोजगारीको बाटो हुँदै पुनः गाउँ फर्किएका अन्सारीका लागि गोलभेँडाखेती अब बाध्यताको विकल्प मात्र होइन, आफ्नै श्रम र सीपमा उभिने आधार बनेको छ । उहाँको अनुभवले विदेशमा रोजगारी खोज्नुपर्ने बाध्यताका बीच स्थानीयस्तरमै व्यावसायिक कृषि विस्तार गर्न सके त्यसले परिवारको आय, रोजगारी र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सक्ने सम्भावनासमेत देखाएको छ ।
