भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् अवरुद्ध : वैकल्पिक व्यवस्थापनको तयारी
विद्युत् राष्ट्रिय प्रसारण प्रणाली
काठमाडौँ, असोज १४ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ । विद्युत् उत्पादन तथा प्रसारणमा परेको असरलाई ध्यानमा राख्दै सरकारले वैकल्पिक व्यवस्थापनको तयारी अघि बढाएको छ ।
बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् आपूर्ति अवरुद्ध भएपछि ती क्षेत्रमा रहेका प्रसारण लाइनमा चाप परेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक विद्युत् आपूर्ति प्रणाली विकासका लागि मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले आवश्यक तयारी अघि बढाएका छन् ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्राधिकरणले हिउँदमा विद्युत्को माग व्यवस्थापनका लागि ‘टास्क फोर्स’ गठन गरेर काम गरिरहेको छ । “भोटेकोशी बाढीका कारण त्रिशूली करिडोरबाट आउने विद्युत् अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । वैकल्पिक आपूर्ति प्रणाली विकासका लागि गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।
मन्त्रालयले मङ्गलबार सडक विभाग र काठमाडौँ महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माण तथा हिउँदको विद्युत् व्यवस्थापनका विषयमा छलफल गरेको छ । प्राधिकरणले हिउँदको विद्युत् मागलाई ध्यानमा राख्दै वैकल्पिक आपूर्ति प्रणालीका रूपमा थप भूमिगत ग्रिड निर्माणको काम अघि बढाएको छ ।
प्रवक्ता शाक्यका अनुसार भूमिगत वैकल्पिक विद्युत् ग्रिडको विश्वसनीयता कायम गर्न तथा थप भूमिगत ग्रिड निर्माणका लागि सडक विभाग र काठमाडौँ महानगरपालिकासँग निश्चित कार्यतालिकासहित सहकार्य गर्ने विषयमा छलफल भएको हो । हिउँदमा विद्युत् आपूर्तिमा आउन सक्ने चापलाई व्यवस्थापन गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।
छलफलमा सडक विभागका काठमाडौँ डिभिजन प्रमुख सुवोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । काठमाडौँ महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापनका लागि आवश्यक सहकार्य गर्ने बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले उपत्यकाभित्र भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको हिउँदे विद्युत् माग व्यवस्थापनको आवश्यकताअनुसार सहकार्य गर्ने बताउनुभयो ।
छलफलमा बागमती वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले काठमाडौँको लोड व्यवस्थापन तथा आवश्यक कार्यबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले प्राधिकरणले ‘टास्क फोर्स’ बनाएर हिउँदे विद्युत् माग व्यवस्थापनको काम अघि बढाइरहेको जानकारी दिनुभयो ।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले हिउँदमा काठमाडौँको विद्युत् माग व्यवस्थापनका लागि सबै सम्बन्धित निकायबीच उच्चस्तरको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । हिउँदमा विद्युत् चापलाई सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
भोटेकोशी बाढीका कारण उत्पादन तथा प्रसारण प्रणालीमा परेको असरका बीच हिउँदे विद्युत् माग व्यवस्थापनलाई प्राथमिकतामा राखेर वैकल्पिक प्रसारण तथा भूमिगत ग्रिड निर्माणको तयारी अघि बढाइएको छ । सम्बन्धित निकायबीचको सहकार्यबाट काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
