नारायणी किनारमा करोडौँको संरचना बाढीले बगायो, ‘सिबिच’ बनाउने योजना अलपत्र

चितवन, १४ असोज । नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने भरतपुर महानगरपालिकाको योजना पटक–पटकको बाढीले प्रभावित भएको छ । नदीकिनारमा बनाइएका पैदलमार्गदेखि आरसिसी संरचनासम्म बाढीले बगाएपछि ‘सिबिच’ ढाँचामा विकास गर्ने योजना अन्योलमा परेको छ ।

ठूला राजनीतिक सभा, महोत्सव तथा कन्सर्टदेखि साँझबिहान घुमफिर गर्नेहरूको रोजाइमा पर्ने नारायणी किनारलाई व्यवस्थित र आकर्षक बनाउन महानगरले सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न संरचना निर्माण गरेको थियो ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार नदी तटीय क्षेत्रलाई ‘सिबिच’ ढाँचामा विकास गर्ने योजना भए पनि हरेक वर्ष आउने बाढीका कारण संरचना जोगाउन कठिन भएको छ । गत वर्ष केही संरचना बगेका थिए भने पछिल्लो बाढीले बाँकी संरचनासमेत बगाएको उनले बताए ।

तत्कालीन नगरप्रमुख रेनु दाहालसहित महानगरको पहलमा सङ्घीय सरकारबाट समेत फुटट्रेल, आरसिसी संरचनासहितका पूर्वाधार निर्माण भएका थिए । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पैदलमार्ग निर्माण गरेको थियो भने नारायणी नदी व्यवस्थापन आयोजनाले ‘सिबिच’ मोडलमा आरसिसी संरचना बनाएको थियो ।

बाढी आउनुअघि नदीकिनारमा मोजाइक टायल, दुबो, हरियाली तथा विभिन्न बिरुवा रोपिएपछि क्षेत्र आकर्षक बनेको थियो । साँझपख घुमफिर गर्नेको चहलपहल बढ्ने गरेको उक्त क्षेत्र अहिले बाढीको क्षतिका कारण पुरानै अवस्थामा फर्किएको छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजु श्रेष्ठका अनुसार पर्यटन मन्त्रालयले करिब २ दशमलव ४ किलोमिटर पैदलमार्ग, पार्किङ र बगैँचा निर्माणका लागि रु. ६ करोड ५० लाख खर्च गरेको थियो । भरतपुर महानगरपालिका र उद्योग वाणिज्य सङ्घको सहकार्यमा थप रु. ९७ लाख खर्च गरी पैदलमार्ग निर्माण गरिएको थियो ।

जोरकुसुम उद्यान क्षेत्रबाहेक अन्यत्र निर्माण गरिएका ती अधिकांश संरचना बाढीले बगाएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको ६५० मिटर लामो र ११ खुट्किलासहितको आरसिसी संरचना भने अहिले पनि बाँकी छ । उक्त संरचना विसं २०७९ मा रु. १५ करोड ९२ लाख खर्चमा निर्माण गरिएको थियो ।

श्रेष्ठ नदीको प्राकृतिक बहावलाई असर गर्ने गरी नदीमै संरचना बनाउनुको सट्टा नदीलाई सहज रूपमा बग्न दिनुपर्ने बताउँछन् । उनका अनुसार नदीकिनारलाई पर्यटकीयस्थल बनाउने प्रयास भए पनि हरेक वर्षको बाढीले लगानी जोखिममा पारिरहेको छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार महोत्सव आयोजना गर्नुपर्दा पनि प्रत्येक दुई वर्षमा करिब रु. ४० लाख खर्च गरेर नदीकिनार व्यवस्थापन गर्नुपर्ने अवस्था छ । महानगरपालिकाले क्षेत्रको भाडा लिए पनि संरचना व्यवस्थापनको भार व्यवसायीलाई समेत परेको उनले बताए ।

सङ्घका पूर्वअध्यक्ष राजन गौतमले नदीकिनारमा गरिएको लगानी दिगो हुन नसकेको भन्दै अब नदीलाई आफ्नै प्राकृतिक धारमा बग्न दिनुपर्ने बताए । उनका अनुसार कार्यक्रम तथा मेला महोत्सवका लागि नदीकिनारमै संरचना बनाउनेभन्दा नारायणगढ बजारको सुरक्षालाई प्राथमिकता दिन आवश्यक छ ।

पछिल्लो बाढीपछि नारायणी नदीको बहाव बजार क्षेत्रसम्म पुगेकाले नारायणगढ बजारको सुरक्षाबारे पनि चिन्ता बढेको छ । लामो समयदेखि नारायणगढमा बस्दै आएका प्रभातकुमार जोशी नदी कटान बढ्दै गए बजारसमेत जोखिममा पर्न सक्ने बताउँछन् । उनका अनुसार नदीकिनार संरक्षणमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।

भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार भोटेकोशी बाढीपछि नदीको सतह बढ्दा नारायणीको पानी बजार क्षेत्रतर्फ पसेको हुनसक्छ । नदी तटीय क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अब फरक ढङ्गले नक्साङ्कन तथा योजना बनाउनुपर्ने उनले बताए ।

६० वर्षयताकै ठूलो बाढी
नारायणी नदीमा गएको आइतबार ६० वर्षयताकै ठूलो बाढी मापन भएको छ । देवघाटस्थित जलमापन केन्द्रमा बिहान ११ः४० बजे नदीको सतह ११ दशमलव ९३ मिटर पुगेको थियो ।

नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीका अनुसार यसअघि २०८१ साल असोज १२ गते देवघाटमा नदीको सतह ११ दशमलव ६ मिटर मापन भएको थियो । देवघाटमा विसं १९६३ देखि जलमापन हुँदै आएको छ ।

उपलब्ध तथ्याङ्कअनुसार आइतबारको बाढी ६० वर्षयताकै ठूलो भएकाले नारायणी किनारमा निर्माण गरिएका संरचनामा ठूलो क्षति पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *