सिन्धुलीमा जिप दुर्घटना, २० मिटर तल खस्दा, ८ जना घाइते
काठमाडौं, १२ असोज । सिन्धुलीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–३ गणेशथानमा जिप सडकबाट करिब २० मिटर तल खसेको हो ।
बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप बुधबार बिहान करिब साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गर्दा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन् ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । जिपका चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन् ।
