नयाँ बनेको सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने बाटो अवरुद्ध

गुल्मी, १४ असोज । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि रेसुङ्गा विमानस्थल जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक भासिएपछि तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडी जाने सडकसमेत प्रभावित भएको छ । सडकमा यातायात सञ्चालन हुन नसकेपछि मोटरसाइकलसमेत जोखिम मोलेर मुस्किलले आवतजावत गरिरहेका छन् ।

सडक भासिएर भएको क्षतिको प्रारम्भिक अनुमान रु. १ करोडभन्दा बढी गरिएको छ । पहिरोका कारण स्थानीय दुई घरसमेत उच्च जोखिममा परेका छन् ।

स्थानीय तिलबहादुर कुँवरले पहिरोबाट मुस्किलले ज्यान जोगाएको बताए । वर्षा भइरहेकाले घरसमेत पहिरोले बगाउने हो कि भन्ने त्रासमा रहेको उनले बताए ।

सघन सहरी विकास कार्यालय पाल्पाले ‘एकीकृत सडक स्तरोन्नति कार्यक्रम’ अन्तर्गत निर्माण गरेको उक्त सडक गत असार मसान्तमा सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै अविरल वर्षापछि सडक भासिएको हो ।

सघन सहरी विकास कार्यालयका इन्जिनियर घनश्याम यादवका अनुसार तत्काल यातायात सञ्चालन सहज बनाउन एक–दुई दिनभित्र अस्थायी मार्ग खोल्ने तयारी भइरहेको छ । भासिएको पक्की सडक पूर्ण रूपमा पुनर्निर्माण गर्न भने केही समय लाग्ने उनले बताए ।

सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घासमा अध्ययनका लागि आउने विद्यार्थी, रेसुङ्गा विमानस्थल जाने यात्रु तथा स्थानीय सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *