थुनिएको मर्स्याङ्दी अझै तालकै रूपमा, दुवैतर्फबाट पानी बग्दै, खुलाउने प्रयास जारी

मनाङ, १४ असोज । अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै तालकै रूपमा रहेको छ । नदीले पुलमाथिबाट धार परिवर्तन गरेपछि अहिले पुलको दायाँ र बायाँबाट आंशिक रूपमा पानी बगिरहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदीको बहाव सञ्चालनमा ल्याउन दुवैतर्फबाट एक्साभेटर प्रयोग गरेर काम भइरहेको छ । इन्धन ल्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत इन्धन ल्याएर मेसिन सञ्चालन गरिएको उनले बताए ।

विज्ञहरूको परामर्शमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा नदीको बहाव खुलाउने प्रयास भइरहेको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार स्थानीय तहमा उपलब्ध एक्साभेटरलगायत उपकरण परिचालन गरी तालको पानीलाई निकास दिने काम भइरहेको छ ।

नदीको बहाव र जोखिमलाई ध्यानमा राखेर किनारतर्फबाट काम भइरहेको अध्यक्ष घलेले बताए । उनका अनुसार पुलमाथिबाट नदीले धार परिवर्तन गरेपछि आसपासका केही घरसमेत डुबानमा परेका छन् ।

यसैबीच घट्टेखोलाको बाढी तथा पहिरोका कारण मनाङमा विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रूपमा प्रभावित भएको छ ।

मर्स्याङ्दीको बाढीले नासोँ गाउँपालिका–८ र ९ जोड्ने पुलसमेत बगाएपछि स्थानीयको आवतजावत थप कठिन भएको छ । स्थानीय रामबहादुर थकालीका अनुसार ताचै गाउँ सडक सञ्जालबाट अलग भएको छ ।

यसअघि तीनतिरबाट आवतजावत गर्न सकिने भए पनि पछिल्लो बाढीपहिरोले घोडेटो, गोरेटो र मोटरबाटोसमेत क्षतिग्रस्त बनाएको उनले बताए । गाउँमा आकस्मिक रूपमा बाहिर जानुपर्ने अवस्था आए पनि अहिले सहज रूपमा आवतजावत गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

नासोँ–८ का वडाध्यक्ष याद घलेले गाउँबाट बाहिरिने सबैजसो बाटो बाढी र पहिरोले बगाएपछि अन्य गाउँसँगको सडक सम्पर्क विच्छेद भएको बताए । आवश्यक स्रोतसाधनको अभावमा तत्काल मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन कठिन भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *