चीनसँग जोडिएका तीनवटै नाका बन्द, अर्बौँको सामान सीमामै रोकियो

काठमाडौं, १४ असोज । बाढीपहिरोका कारण चीनसँग सडकमार्गबाट जोडिएका नेपालका रसुवागढी, तातोपानी र कोरला तीनवटै प्रमुख नाका बन्द हुँदा चीनसँगको वैदेशिक व्यापार प्रभावित भएको छ । चाडपर्व नजिकिँदै गर्दा चीनबाट आयात गर्न लागिएका सामान सीमामै रोकिँदा व्यवसायीसमेत समस्यामा परेका छन् ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा नाकातर्फ नेपाल र चीन दुवै क्षेत्रमा सडक, पुल, भन्सार तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि रसुवागढी नाका तत्काल सञ्चालनमा आउने अवस्था छैन ।

भोटेकोशी बाढीपछि तातोपानी नाका पनि प्रभावित हुँदै आएको छ । पछिल्लो असोज ८ देखि ११ गतेसम्मको लगातार वर्षा र बाढीपहिरोले कालीगण्डकी करिडोरका विभिन्न स्थानमा सडक तथा पुलमा क्षति पुर्‍याएपछि मुस्ताङको कोरला नाकाबाट हुने व्यापारसमेत रोकिएको छ ।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक श्रेष्ठका अनुसार तीनवटै प्रमुख नाका बन्द हुँदा चीनसँगको आयात–निर्यातमा ठूलो असर परेको छ । उनका अनुसार चाडपर्व लक्षित गरेर चीनबाट ल्याउन लागिएका सामान चिनियाँ भूमिमै रोकिएका छन् ।

“व्यापारीले ऋणधन गरेर चीनबाट आयात गरेका वस्तु तथा सामान चिनियाँ भूमिमै रोकिएका छन् । यसले व्यापारीको ऋणको भार बढाएको छ भने सामान कहिले नेपाल आइपुग्छ भन्ने अनिश्चित छ,” श्रेष्ठले भने ।

सङ्घका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवा, तातोपानी र कोरला नाका बन्द हुँदा चीनतर्फबाट नेपाल ल्याउन लागिएका ७०० भन्दा बढी कन्टेनर विभिन्न स्थानमा रोकिएका छन् । ती कन्टेनरमा करिब रु. ५ अर्ब बराबरका सामान रहेको उनको दाबी छ ।

उनले नाका सञ्चालनका लागि सरकारले चिनियाँ पक्षसँग कूटनीतिक पहललाई तीव्रता दिनुपर्ने बताए । सडक र पुलमा भएको क्षति मर्मत गरी कोरला नाका पनि जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रसुवा भन्सार नाका हुँदै रु. ४५ अर्ब ७३ करोड ८२ लाख ६४ हजार बराबरका वस्तु आयात भएका थिए । यो कुल आयातको २ दशमलव १८ प्रतिशत हो । सोही अवधिमा रसुवा नाकाबाट रु. ८९ करोड ४६ लाख १ हजार बराबरका वस्तु निर्यात भएका थिए ।

आर्थिक वर्ष २०८१/८२ मा रसुवा नाकाबाट रु. ८५ अर्ब २३ करोड २३ लाख ६० हजार बराबरका वस्तु आयात भएका थिए भने रु. २ अर्ब ४ करोड ५२ लाख ६१ हजार बराबरका वस्तु निर्यात भएका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा तातोपानी भन्सार नाका हुँदै रु. ४७ अर्ब ४८ करोड ६१ लाख १८ हजार बराबरका वस्तु नेपाल भित्रिएका थिए । कुल आयातमा तातोपानी नाकाको हिस्सा २ दशमलव २७ प्रतिशत रहेको छ ।

मुस्ताङको कोरला नाका हुँदै सोही आर्थिक वर्षमा रु. १४ अर्ब ४० करोड ६७ लाख २८ हजार बराबरका वस्तु आयात भएका थिए । यो कुल आयातको शून्य दशमलव ६९ प्रतिशत हो । सो नाकाबाट रु. २० करोड ५५ लाख ७५ हजार बराबरका वस्तु निर्यात भएका थिए ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले असोज ९ गते नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भेट गरी बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माण तथा रसुवागढी–केरुङ नाका पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

मन्त्री लम्सालले तातोपानी र कोरला नाका पनि यथाशीघ्र सञ्चालनका लागि आवश्यक पहल गर्न चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

राजदूत वाङले रसुवागढी नाका पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्न सकिने बताएका छन् । उनले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै नेपाल सरकारले रसुवागढी नाका पुनर्निर्माण तथा सञ्चालनसम्बन्धी विशेष प्रस्ताव पठाए आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएको मन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *