समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

बैठकमा आकस्मिक समय लिएर धारणा

काठमाडौँ,  असोज १४  । प्रतिनिधिसभाका सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, पूर्वाधार निर्माण, नागरिकको सुरक्षा, वन्यजन्तुबाट हुने क्षति, वैदेशिक रोजगारीमा रहेका नेपालीको शव स्वदेश ल्याउनेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बोल्दै सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुरमा मङ्गलबार राति आएको बाढीले झोलुङ्गे पुलमा क्षति पुगेको उल्लेख गर्दै तत्काल मर्मत तथा पुनःनिर्माणको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।

सांसद योगेश गौचन थकालीले अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुस्ताङका पूर्वाधारमा गम्भीर क्षति पुगेको बताउनुभयो । उहाँले कृषि पूर्वाधारसमेत प्रभावित भएको उल्लेख गर्दै लोमन्थाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बाढीपहिरोबाट बढी क्षति भएको जानकारी गराउनुभयो ।

सांसद आरेन राईले मनाङमा गएको हिमपहिरोमा खोटाङका चार जना बेपत्ता भएको जानकारी दिँदै उनीहरूको तत्काल खोजी तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्रिपुरेश्वरमा भएको आगलागीमा परी निधन भएका चालक अर्जुन दोङ तामाङको परिवारसँग सरकारले हालसम्म संवाद नगरेको भन्दै पीडित परिवारसँग तत्काल समन्वय गर्न आग्रह गर्नुभयो ।

सांसद प्रभा ढकालले वन्यजन्तुबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले प्रभावकारी पहल गर्न नसकेको बताउनुभयो । उहाँले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष आसपासका बासिन्दाले भोग्दै आएको समस्या समाधान गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कमल सुवेदीले वैदेशिक रोजगारीका क्रममा निधन भएका दाङका नागरिकको शव विदेशमै रहेको जानकारी गराउँदै एकिन्द्र ओलीको दक्षिण कोरिया तथा वीरेन्द्र चौधरी र कमला विकको भारतमा निधन भएकाले उनीहरूको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले रोजगारीका सिलसिलामा जुनसुकै देशमा पुगेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्नसमेत सरकारसँग आग्रह गर्नुभयो ।

सांसद सृजना श्रेष्ठले धरानका ५६ सामुदायिक विद्यालयमा शिक्षक अभाव रहेको विषय उठाउँदै समस्या समाधानको माग गर्नुभयो । शिक्षक अभावका कारण साना विद्यार्थीले समेत धर्ना दिनुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले तत्काल आवश्यक शिक्षकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद निनुकुमारी कर्णले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति विरोध जनाउनुभयो । सांसद अम्बिकादेवी सङ्ग्रौलाले सीमा नाकामा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *