भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने अनुमान

काठमाडौं, १४ असोज । भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा ऊर्जा संरचना पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट प्रभावित ऊर्जा संरचनाको प्रारम्भिक लगानी मूल्य करिब १ खर्ब २४ अर्ब रुपैयाँ रहे पनि पुनर्निर्माणका क्रममा संरचनागत परिवर्तन, मूल्यवृद्धि र नदीको सतह बढेकाले लागत करिब ३ खर्ब ९० अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको हो ।

मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन क्षमता सेवाबाट बाहिरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो नेपालको हालको करिब ३ हजार ३०० मेगावाट जडित विद्युत् क्षमताको झन्डै १० प्रतिशत हो ।

बाढीबाट निर्माणाधीन ७५९ मेगावाट क्षमताका आयोजना समेत प्रभावित भएका छन् । चिलिमे केन्द्र तथा त्रिशूलीमा रहेको ‘३ बी’ केन्द्रको स्टेसन पूर्ण रूपमा बगेपछि विद्युत् प्रसारणमा समस्या आएको मन्त्रालयले जनाएको छ ।

“प्लान्टमा क्षति नपुगे पनि ‘हब’ स्टेसन नै बगेका कारण उत्पादन भएको करिब १७६ मेगावाट विद्युत् अहिले स्थानान्तरण गर्न सकिएको छैन,” सहसचिव आचार्यले भन्नुभयो ।

मन्त्रालयका अनुसार भोटेकोशी–त्रिशूली बाढीबाट सिँचाइ क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । विभिन्न जिल्लामा कुलो तथा अन्य सिँचाइ संरचनामा गरी १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

सहसचिव आचार्यले पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण नेपालमा मौसमी तथा जलवायुजन्य विपद्का घटना बढिरहेको बताउनुभयो । उहाँका अनुसार अतिवृष्टि, बाढीपहिरो, खडेरी तथा तापक्रम वृद्धिका कारण पहाडदेखि तराईसम्म फरक–फरक प्रभाव देखिन थालेको छ ।

उहाँले पछिल्लो समय असोजमै अत्यधिक वर्षा हुने प्रवृत्ति देखिएको बताउँदै सेप्टेम्बरमा बाढी र वर्षाको ढाँचा परिवर्तन भइरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *