राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक पारित

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला

काठमाडौँ, १४ असोजः प्रतिनिधिसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डिएनए परीक्षणलाई थप प्रभावकारी र छिटो बनाउन तथा विधि विज्ञानसम्बन्धी सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो ।

उहाँले विधि विज्ञान प्रयोगशालाबाट प्राप्त तथ्याङ्क तथा विवरण अनधिकृत रूपमा बाहिरिन नदिन आवश्यक व्यवस्था विधेयकमा गरिएको जानकारी दिनुभयो । विधेयकमाथि सांसदहरूले यसअघि विस्तृत रूपमा छलफल गरी शब्द–शब्द केलाएको पनि उहाँले उल्लेख गर्नुभयो ।

यसअघि विधेयकमाथिको छलफलमा सांसदहरू शोभा खनाल, बसुमाया तामाङ, मञ्जु भुसाल, गङ्गालक्ष्मी अवाल, सुशीला ढकाल आचार्य, टेकबहादुर शाक्य, प्रमिला कुलुजू, हरिमोहन भण्डारी, जनकसिंह धामी, पुकार बम, नीता घतानी, एशुदाकुमारी बराल, गुरूप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, साजिदा खातुन सिद्धिकी र लेखजङ्ग थापाले भाग लिँदै विधेयकका विभिन्न पक्षमा धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज १५ गते बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *