भुटानविरुद्धको खेलमा गण्डकीको लगातार दोस्रो जित

अन्तर्राष्ट्रिय खेल गन्तव्य पोखरा

काठमाडौँ, असोज १४ । घरेलु टोली गण्डकी प्रदेशले नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यास खेलमा लगातार दोस्रो पटक पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशले भुटानलाई ६४ रनले पराजित गरेको हो । यसअघि मङ्गलबार भएको खेलमा पनि गण्डकीले भुटानलाई पराजित गरेको थियो ।

टस जितेर भुटानले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९६ रन बनाएको थियो। १९७ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर चार बलमा सबै विकेट गुमाउँदै १३२ रनमा समेटियो।

गण्डकीका लागि करन पगेनीले २७ बलमा एक चौका र पाँच छक्कासहित ४५ रन बनाए। सिब्रिन श्रेष्ठले २४ बलमा एक चौका र पाँच छक्काको मद्दतले ४५ रन जोडे। यस्तै, सन्दीप खत्री क्षेत्रीले नौ बलमा अविजित ३०, मुस्कान थापामगरले २१ र रोहित चन्दले २० रन बनाए ।

बलिङतर्फ भुटानका थिन्ले जम्त्सोले चार, सोनाम येशेले दुई तथा नाम्गे थिन्लेले एक विकेट लिए ।

भुटानका लागि सोनाम छोपेलले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा छ चौका र दुई छक्का प्रहार गरे । ताशी दोर्जीले ३१, तेन्जिन राब्गेले २१ तथा थिन्ले जम्त्सोले १७ रन बना ए।

गण्डकीका बलर विपिन खत्रीले चार, दीपकप्रसाद डुम्रेले तीन तथा सिब्रिन श्रेष्ठले दुई विकेट लिए। खेलमा गण्डकीका सिब्रिन श्रेष्ठ ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

भुटानले अब नेपाल क्रिकेट सङ्घ (क्यान–११) सँग दुई अभ्यास खेल खेल्नेछ । आगामी अक्टोबरमा मलेसियामा हुने आईसीसी पुरुष टी २० विश्वकपको एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि भुटानी टोली नेपाल आएको हो ।

विदेशी टोली पोखरामा आएर क्रिकेट खेल्दा यहाँको क्रिकेट विकाससँगै पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *