४६औँ नेपालभाषा साहित्य तःमुंज्या कार्तिक ६ र ७ गते, सांस्कृतिक, सामाजिक र राजनीतिलाई जाेड्दै स्थानीय दवु:
भक्तपुर, १४ असोज । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नारासहित ४६औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुरकाे स्थानीय दवु:मा हुने भएको छ ।
नेपाल संवत् ११०० (वि.सं. २०३७) देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याको ४६औँ संस्करण भक्तपुर नगरपालिका–७ गोमारी, यातामा नेपाल संवत् ११४६ को कौला थ्व द्वादशी र त्रयोदशी अर्थात् कार्तिक ६ र ७ गते हुने भएकाे पत्रकार सम्मलेन मार्फत आयोजकले जनाएको छ ।
आयोजकका अनुसार तःमुंज्याको मुख्य उद्देश्य नेपालभाषाको संरक्षण, संवर्द्धन र विकाससँगै नेपालभाषा साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन गर्नु हो । जनजीवनसँग सम्बन्धित सामाजिक विषयलाई साहित्य, कला र सांस्कृतिक प्रस्तुतिमार्फत उठाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले याे कार्यक्रम आयाेजना गरिएकाे तःमुंज्या समितिले जनाएकाे छ ।
तःमुंज्यामा नेपालभाषामा कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन हुनेछन् । आमन्त्रित तथा अतिथि साहित्यकारले समेत आफ्ना रचना प्रस्तुत गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा भाषा तथा साहित्य क्षेत्रका विज्ञहरूको मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान, सामाजिक तथा समसामयिक विषयमा छलफल र विचार प्रस्तुति कार्यक्रमका प्रमुख आकर्षण रहनेछन् ।
त्यस्तै, नाटक, ख्याल, नृत्य, गीति नाटक र गीतलगायत सांस्कृतिक प्रस्तुति पनि हुनेछन् । सामान्यतः पहिलो चरणमा साहित्यिक र दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने परम्परा रहेको आयोजकले जनाएको छ ।
तःमुंज्याले नयाँ पुस्तालाई नेपालभाषामा लेखन, सिर्जना र सार्वजनिक प्रस्तुतीकरणका लागि अवसर दिँदै आएको आयोजकको भनाइ छ । यस वर्ष पनि प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गरिनेछ ।
तःमुंज्याको विशेषता हरेक वर्ष भक्तपुरका फरक–फरक वडा तथा टोलकाे दवु:मा आयोजना गर्ने गरिन्छ । यसअघि तःमुंज्याले सामाजिक असमानता, अन्याय, श्रमिक तथा किसानका समस्या, शिक्षा, स्वास्थ्य, भाषा तथा संस्कृतिको संरक्षण, राष्ट्रियता र सीमालगायत जनजीवनसँग सम्बन्धित विषयलाई साहित्य र वक्तव्यका माध्यमबाट उठाउँदै आएको आयोजकको भनाइ छ ।
पत्रकार सम्मेलनमा मुल समितिका संयोजक आशाकुमार चिकंबञ्जारले यो वर्ष पनि गतवर्षहरुमा जस्तै भव्यताकासाथ तःमुंज्या हुन लागेको जानकारी दिए । बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले तःमुंज्यामा नेपालका विभिन्न भाषाभाषिका मात्रै नभई देशी विदेशी भाषाका नागरिकहरुबाट पनि साहित्य वाचन हुँंदै आएको स्मरण गरे ।
तःमुंज्या तथा सांस्कृतिक ब्वज्या आयोजक समितिका अध्यक्ष उकेश कवांले नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवद्र्धन गर्दै आएको जानकारी दिए । सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको उनले जनाए ।
प्रचारका लागि साइकल र्यालीदेखि बाँसुरी बाजा प्रदर्शनीसम्म
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको प्रचारका लागि विभिन्न कार्यक्रमसमेत आयोजना गरिने भएको छ ।
आयोजकका अनुसार असोज १७ गते शनिबार बिहान ७ बजेदेखि काठमाडौं उपत्यकामा करिब ४० किलोमिटरको साइकल र्याली आयोजना हुनेछ ।
त्यस्तै, असोज २५ गते शनिबार घटस्थापनाका दिन साँझ ५ बजे भक्तपुर दरबार स्क्वायरकाे सिलु महाद्यकाे प्राङ्गणमा बाँसुरी बाजा प्रदर्शनी गरिनेछ । तःमुंज्याको अघिल्लो दिन कार्तिक ५ गते दिउँसो ४ बजेदेखि सुकुन्दा र्याली आयोजना हुने आयोजकले जनाएको छ ।
चार दशकभन्दा लामो यात्रामा तःमुंज्याले विभिन्न कालखण्डका सामाजिक, सांस्कृतिक, राजनीतिक तथा साहित्यिक विषयलाई आफ्नो मञ्चमा स्थान दिँदै आएको छ ।
४६औँ संस्करण सफल बनाउन देशभरका साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय, सञ्चारकर्मी, उद्यमी, व्यापारी तथा भाषा–संस्कृतिप्रेमीलाई सक्रिय सहभागिताका लागि आयोजकले आह्वान गरेको छ ।
