प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोष
काठमाडौँ, असोज १४ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल कोषमा मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपियाँ पुगेको छ ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नौ वटा वाणिज्य बैंकमा रहेको नेपाली मुद्राको मौज्दात १२ अर्ब पाँच करोड ९९ हजार ७२९ रुपियाँ रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा दुई करोड ७१ लाख छ हजार ८२२ रुपियाँ अमेरिकी डलर मौज्दात रहेको छ ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि एक अर्ब रुपियाँ निकासा गरिसकेको छ ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवालगायतका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुगेपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कोषमा सहयोग जुटाउने क्रम जारी रहेको जनाइएको छ ।
