पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन

धादिङको मलेखु जोडिने चेपाङ मार्गमा पहिरो

काठमाडौँ, असोज १५ । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको भण्डारादेखि पहाडी क्षेत्र हुँदै धादिङको मलेखुसम्म जोडिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएपछि बुधबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ ।

चितवनको राप्ती नगरपालिका ११ बेलडाँडामा पहिरो खसेपछि ६६ किलोमिटर लामो उक्त सडकमा आवागमन प्रभावित भएको हो । सडकका विभिन्न स्थानमा समेत पहिरो खसेको तथा सडकको अवस्था जीर्ण रहेकाले मलेखुसम्म पूर्णरूपमा यातायात सञ्चालन हुन सकेको छैन ।

२०६६ सालको बजेट वक्तव्यमा समावेश भएपछि निर्माण प्रक्रिया अघि बढाइएको उक्त सडकमा पछिल्ला चार–पाँच दिनदेखि लगातार पहिरो खस्दा स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् । कतिपय स्थानमा पैदल हिँड्नसमेत कठिन हुने गरी सडकमा पहिरो खसेको स्थानीयवासीले बताएका छन् ।

मङ्गलबार राप्ती नगरपालिकाको विकट क्षेत्र कालिटारमा नागरिकता वितरण गर्न जाँदै गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीसमेत पहिरोका कारण बाटोमै रोकिएको थियो । राप्ती नगरपालिका–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले पहिरोका कारण स्थानीयवासीले लामो समयदेखि सास्ती खेप्नुपरेको भन्दै प्रमुख जिल्ला अधिकारी अर्यालसँग सडक खुलाउन पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

नागरिकता वितरण टोलीसमेत जोखिम मोलेर पहिरो पार गर्दै गन्तव्यतर्फ पुगेको थियो । वडाध्यक्ष प्रजाका अनुसार सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक जीर्ण हुँदा दैनिक उपभोग्य सामग्री तथा अन्य सामान ओसारपसारमा समेत समस्या भएको छ । उहाँले सडकको दूरावस्थाका कारण बोलेरो गाडीमा सामान लैजानुपर्ने र कतिपय ठाउँमा मानिस हिँड्नसमेत कठिन रहेको बताउनुभयो ।

स्थानीयवासीले समेत प्रमुख जिल्ला अधिकारी अर्यालसँग सडकको अवस्था सुधारका लागि पहल गरिदिन आग्रह गरेका थिए । वडाध्यक्ष प्रजाका अनुसार बुधबारदेखि सडक केही हदसम्म सञ्चालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले मङ्गलबार पहिरो तथा सडकको खराब अवस्थाका बीच बोलेरो गाडीमार्फत राप्ती नगरपालिका १३ कालिटार र वडा नं १२ यौरालीटार पुगेर नागरिकता वितरण गरेको थियो । सोही क्रममा जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरणसमेत सङ्कलन गरेको थियो ।

चेपाङ मार्ग पूर्णरूपमा सञ्चालनमा आएमा नारायणगढ मुग्लिन सडकखण्ड तथा कृष्णभीर क्षेत्रमा हुने पहिरोका कारण यातायात अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिने स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *