घिरिङमा बाढीपहिरोले ७ झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

दमौली, १५ असोज । तनहुँको घिरिङ गाउँपालिकामा अविरल वर्षापछि आएको बाढीपहिरोले सात वटा झोलुङ्गे पुल र एउटा बेलिब्रिजमा क्षति पुर्‍याएको छ । बाढीपहिरोका कारण भिमाद–रामपुर सडकखण्डसमेत प्रभावित भएको छ ।

क्षतिग्रस्त संरचनाको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार घिरिङका विभिन्न स्थानमा स्थलगत अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापालगायतको टोलीले क्षतिग्रस्त पुल तथा सडकको निरीक्षण गरेको हो ।

बाढीपहिरोका कारण पुल तथा सडकमा क्षति पुगेपछि स्थानीयवासीको आवागमन प्रभावित भएको छ । विशेषगरी झोलुङ्गे पुलमा भएको क्षतिले विभिन्न बस्तीबीचको आवतजावतमा समस्या भएको छ भने बेलिब्रिज तथा सडकमा क्षति पुग्दा यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ ।

टोलीले क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्दै तत्काल गर्नुपर्ने व्यवस्थापन तथा पुनःनिर्माणका लागि आवश्यक समन्वयबारे जानकारी लिएको जनाएको छ ।

यसैबीच, घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका–डेढगाउँ जोड्ने पुलको स्थलगत निरीक्षण तथा नापजाँच गरिएको छ ।

कालीगण्डकीमा आएको भीषण बाढीले पुलको पहुँचमार्ग बगाएपछि उक्त सडकमा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । पुलको पहुँचमार्ग क्षतिग्रस्त भएपछि स्थानीयवासीलाई आवतजावतमा थप समस्या भएको छ ।

घिरिङ गाउँपालिकाको समन्वयमा सडक विभाग, दमौलीको प्राविधिक टोलीले क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण तथा नापजाँच गरेको हो । सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा प्राविधिक टोलीले पुलको अवस्थाबारे आवश्यक विवरण सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ ।

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले सर्भे सम्पन्न भएसँगै तत्काल वैकल्पिक व्यवस्था मिलाउनुका साथै पुल पुनःनिर्माणको काम अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *