सुत्केरीका घरमै पुगेर आमा र नवशिशुको स्वास्थ्य जाँच गर्दै काठमाडौँ महानगर
उत्तर प्रसुति स्याहार (पीएनसी) घरभेट कार्यक्रम
काठमाडौँ, असोज १४ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि सुत्केरीका घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट ‘उत्तर प्रसुति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
गर्भावस्थामा स्वास्थ्य परीक्षण तथा सुत्केरीपछि स्वास्थ्य प्रवर्धन केन्द्रबाट प्राप्त विवरणका आधारमा कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत सुत्केरी भएको तेस्रो र सातौँ दिनमा स्वास्थ्यकर्मी घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्नेछन् ।
सुत्केरीपछि आमामा रक्तस्राव, संक्रमण, उच्च रक्तचापलगायतका स्वास्थ्य समस्या देखिन सक्ने तथा नवजात शिशुमा समेत विभिन्न जटिलता आउन सक्ने भएकाले समयमै समस्या पहिचान गरी स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । घरभेटका क्रममा स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यक परामर्श तथा व्यवस्थापन गर्ने र थप उपचार आवश्यक देखिएमा सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण गर्नेछन् ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार सुत्केरी भएको पहिलो दुई दिनभित्र आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण हुने दर ७० प्रतिशत छ । स्वास्थ्य संस्थामा प्रसुति भएका महिलामा यस्तो परीक्षणको दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसुति हुने महिलामा यो दर २३ प्रतिशत मात्र रहेको छ ।
काठमाडौँ महानगरपालिकाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रभित्र दुई पटकसम्म घरमै सुत्केरी जाँच गराउने महिलाको दर १ दशमलव १८ प्रतिशत थियो । आर्थिक वर्ष २०८१/८२ मा उक्त दर बढेर ११ दशमलव १८ प्रतिशत पुगे पनि आर्थिक वर्ष २०८२/८३ मा घटेर ४ दशमलव ७१ प्रतिशतमा झरेको थियो । घट्दो दरलाई सुधार गर्दै उत्तर प्रसुति अवस्थामा आमा तथा नवजात शिशुमा देखिन सक्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यक्रमका फोकल पर्सन वरिष्ठ अ.न.मि. निरीक्षक चन्द्रा भट्टले जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसमेत दिइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई दुई समूहमा विभाजन गरी घरभेटको विधि, स्वास्थ्य परीक्षणका क्रममा गर्नुपर्ने काम तथा सेवा प्रवाहका विषयमा जानकारी गराइएको महानगरपालिकाले जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य नर्सिङ निरीक्षक अम्बिका पाण्डेका अनुसार सहरी क्षेत्रमा स्वास्थ्य संस्था नजिक भए पनि परिवारमा सहयोग गर्ने सदस्यको अभाव, काममा फर्किनुपर्ने अवस्था, घरायसी जिम्मेवारी तथा अस्पतालबाट डिस्चार्ज भएपछि थप समस्या नरहेको भन्ने बुझाइका कारण उत्तर प्रसुति जाँच छुट्ने गरेको छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा दिने प्रणालीले सेवा नलिएका परिवार पहिचान गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
महानगरपालिकाले कार्यक्रमलाई स्वास्थ्य परीक्षणमा मात्र सीमित नगरी सुत्केरी आमा र नवजात शिशुको स्याहार, स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक जानकारीसमेत प्रदान गर्ने तयारी गरेको छ । घरभेटका क्रममा प्रयोग हुने चेकलिस्टमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा सुत्केरीपछिको परामर्शलाई समेटिएको छ ।
सूक्ष्म योजना तथा स्वास्थ्य संस्थागत तथ्याङ्कका आधारमा घरभेट कार्यक्रम सञ्चालन गरिनेछ । घरभेटको समय निर्धारण, स्वास्थ्य संस्था र बस्तीबीचको पहुँच, उपलब्ध जनशक्ति तथा मातृ–नवजात स्वास्थ्य सेवाको अवस्थालाई कार्यक्रम सञ्चालनका आधार बनाइने महानगरपालिकाले जनाएको छ ।
नेपालले सन् २०३० सम्ममा मातृ मृत्यु दर प्रति एक लाख जीवित जन्ममा ७० र नवजात शिशु मृत्यु दर प्रति हजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्य लिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ आमाको गर्भावस्थासँग सम्बन्धित कारणले मृत्यु हुने गरेको छ भने सुत्केरी अवस्थासँग सम्बन्धित मृत्युको संख्या पनि उच्च रहेको छ ।
