साल्ट ट्रेडिङकाे दसैँ–तिहार लक्षित सुपथ मूल्य पसलमा चहलपहल, नुनदेखि चामलसम्म छुट

काभ्रेपलाञ्चाेक, १५ असोज । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा उपभोक्ताको चहलपहल बढेको छ । बजारमा हुनसक्ने मूल्यवृद्धि नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको हो ।

बनेपाको तीनदोबाटोस्थित साल्ट ट्रेडिङको वितरण केन्द्रमा सञ्चालित सुपथ मूल्य पसल छठ पर्वसम्म खुला रहनेछ । शनिबारसहित सातै दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसल सञ्चालन हुने कर्पोरेशनले जनाएको छ ।

साल्ट ट्रेडिङ बनेपा शाखाका कार्यालय प्रमुख सुरेन्द्र अवालेका अनुसार सुपथ मूल्य पसलमा विभिन्न दैनिक उपभोग्य वस्तुमा विशेष मूल्य निर्धारण गरिएको छ । यहाँ नुन प्रतिकिलो रु. २४ र चिनी प्रतिकिलो रु. १०० मा बिक्री भइरहेको छ ।

त्यस्तै, २५ किलोको भान्साघर स्टिम जिरा मसिनो चामल रु. २ हजार ५८० मा उपलब्ध छ । मङ्गलम, पाल्की, निश्चल, नातिनातिनी र बहुलीलगायत विभिन्न ब्रान्डका चामलसमेत छुट मूल्यमा बिक्रीका लागि राखिएको छ ।

मुसुरो दाल प्रतिकिलो रु. १४०, रहर दाल रु. २१०, मास दाल रु. २०५ र चना दाल रु. १५५ मा बिक्री भइरहेको छ । मुग दाल, विभिन्न प्रकारका सिमी तथा गेडागुडीसमेत छुट मूल्यमा उपलब्ध रहेको कर्पोरेशनले जनाएको छ ।

त्यस्तै, मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदा, कोदो र फापरको पिठो, मकै तथा जौको च्याख्ला पनि पसलमा राखिएको छ । अर्गानिक लसुन, अदुवा, दालचिनी, खुर्सानी, बेसारलगायत मसला तथा विभिन्न ब्रान्डका चियासमेत पसलमा उपलब्ध छन् । खाद्यान्नबाहेक अन्य घरायसी सामग्रीमा समेत सहुलियत दिइएको कर्पोरेशनले जनाएको छ ।

ग्यासदेखि इन्डक्सनसम्म सहुलियत
सुपथ मूल्य पसलमा खाद्यान्नसँगै घरायसी सामग्रीसमेत उपलब्ध छन् । एसटिसी ग्यास सिलिन्डर रु. २ हजार १६५, लुनारको दुई हजार वाटको इन्डक्सन कुकटप रु. ४ हजार ९६० र किनमेल गर्ने झोला रु. ३५ मा बिक्री भइरहेको छ । कार्यालय प्रमुख अवालेले चाडपर्वका बेला आवश्यक उपभोग्य वस्तु सुलभ मूल्यमा सहज रूपमा खरिद गर्न उपभोक्तालाई आग्रह गरेका छन् ।

खुला बजारको तुलनामा सुपथ मूल्य पसलमा खाद्यान्न तथा घरायसी सामग्री सस्तो पाएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । बनेपाकी उपभोक्ता रमिता नेपालीले चाडपर्वको मुखमा नुन, तेल, चामल र दालजस्ता दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा पाउँदा घरखर्च व्यवस्थापनमा सहज भएको बताइन् ।

साल्ट ट्रेडिङले असोज १ गतेदेखि दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कर्पोरेशनले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङलगायतका स्थानमा समेत सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *