संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौँ, १५ असोज । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार अधिवेशन अन्त्यसम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाइएको छ । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
वैशाख २८ गतेदेखि सुरु भएको चालु अधिवेशनमा सरकारले बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न कानुन निर्माण गरेको थियो । यस अवधिमा संसद् अधिवेशन नभएको समयमा सरकारले जारी गरेका अध्यादेशसमेत स्वीकृत भएका छन् ।
अध्यादेशबाट संशोधन गरिएका विषय समेटेर सरकारले ल्याएका प्रतिस्थापन विधेयक पनि संसद्बाट पारित भई ऐनमा रूपान्तरण भएका छन् ।
