सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता
काठमाडौँ, १५ असोज । सरकारले बहुप्रतीक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८३ सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बिहीबार विधेयक संसद्मा दर्ता गर्नुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
सरकारी विधेयकका रूपमा दर्ता भएको उक्त विधेयकको दर्ता नं ३५ रहेको छ । मन्त्रिपरिषद्को असोज १३ गते बसेको बैठकले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको थियो ।
सरकारले सङ्घीय शासन प्रणालीअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध, कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित, स्पष्ट तथा प्रभावकारी बनाउन विधेयक आवश्यक रहेको जनाएको छ ।
प्रस्तावित विधेयकले प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै निजामती सेवालाई व्यावसायिक, सक्षम, उत्तरदायी र जनमुखी बनाउने लक्ष्य राखेको छ । साथै निजामती सेवालाई राष्ट्रहित, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सुशासनप्रति प्रतिबद्ध संयन्त्रका रूपमा विकास गर्ने उद्देश्य विधेयकमा राखिएको छ ।
