भैरहवाबाट दुई किलो ६०५ ग्राम सुनसहित एक महिला पक्राउ
रूपन्देही, १५ असोज । भैरहवामा सशस्त्र प्रहरीले दुई किलो ६०५ ग्राम सुन अर्थात रु दुई करोड ५१ लाखभन्दा बढी मूल्यको सुनका गरगहना बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट भारत हुँदै नेपाल प्रवेश गरेकी एक महिलाको साथबाट ती गरगहना बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेललाई जाँच गर्ने क्रममा गरगहना बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई जाँच गरेको थियो ।
सशस्त्र प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न आकार र डिजाइनका हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली, जुली, टप, नाकको फूली, पत्थरवाला हार र ब्रासलेटलगायतका गरगहना फेला परेका छन् ।
बरामद गरगहनाको कुल तौल दुई किलो ६०५ ग्राम रहेको छ । परीक्षणका लागि सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घमा पठाइएकामा त्यसमा करिब एक किलो सुन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गरगहनाको भित्री भागमा अन्य धातु प्रयोग गरिएको र बाहिरी भागमा सुनको लेपन गरिएको पाइएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार प्रचलित बजार मूल्यका आधारमा बरामद सुनको मूल्य रु दुई करोड ५१ लाख ९३ हजार ३५० कायम भएको छ ।
बरामद गरगहना तथा नियन्त्रणमा लिइएकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
