ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील कार्यवाहक प्रमुख डंगोल
ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित
काठमाडौँ, असोज १५ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गर्न काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषद्सँग निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा भएको सम्झौतापछि कार्यवाहक प्रमुख सुनिता डंगोलले रोग सहेर घरमै बसिरहेका ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याउन सक्नु कार्यक्रमको प्रभावकारिता मापन गर्ने महत्वपूर्ण सूचक हुने बताउनुभएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा भएको कार्यक्रममा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठ र सामुदायिक स्वास्थ्य परिषद्का उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठसँग सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापछि धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले अस्पताल आउने ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा थप सहज र सरल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालमा पहिलोपटक जाँच गराउन आउने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्नुले स्वास्थ्य सेवामा उनीहरूको पहुँच विस्तार भएको देखाउने बताउनुभयो ।
“अस्पताल आउने गर्नु भएका ज्येष्ठ नागरिकको सेवालाई अझ सहज र सरल बनाउँदै लैजानुपर्छ,” उहाँले भन्नुभयो, “रोग सहेर घरमै बसिरहने ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याउनु चाहिँ कार्यक्रम प्रभावकारिताको मूल्याङ्कन सूचक हो ।”
महानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच बढाउने उद्देश्यले गरेको सम्झौताबाट स्वास्थ्य समस्या भए पनि उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका ज्येष्ठ नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।
