नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८९ करोड

काठमाडौँ, १६ असोज। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार झिनो अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.१४ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेको छ ।

नेप्सेसँगै कारोबार रकमसमेत सामान्य बढेको छ । बुधबार ४ अर्ब ७६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३५३ स्टकको ५१ हजार ७४५ पटकको कारोबारबाट ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको १ करोड २० लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९.५ प्रतिशत तथा इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य ७.५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९.६६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३० करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाले लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीबार भएकाले कारोबार बढेको हो । बैंकले शुक्रबार अर्थात् असोज १६ गते बुक क्लोज गर्दैछ ।

त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र हाथवे इन्भेस्टमेन्टको करिब २२ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक सामान्य बढेको छ ।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ भने लगानी उपसमूहको परिसूचकमा कुनै परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *