मनाङमा अलपत्र १६ इन्डोनेसियाली पर्यटकको उद्धार
हेलिकप्टरमार्फत उद्धार
काठमाडौँ, असोज १५ । मनाङको निस्याङ गाउँपालिका १ स्थित घताङ एग्रो क्षेत्रमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि गएका उनीहरू असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि घताङ एग्रो क्षेत्रमा अलपत्र परेका थिए । उनीहरूलाई डाइनेस्टी हेलिकप्टरमार्फत उद्धार गरी लमजुङको बेँसीसहर नगरपालिका ७, सहजी ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उद्धार गरिएका पर्यटकमा सिटी आलिया रहादियानी, अराफी अनुगेराह साप्रुदिन, सिटी अकिया नुरफद्ला, अजी बागुस सेतियावान, नाइरा हानिफ्फादिला नोअर बुदिमान, बेट्टी अगुस्टिना सुप्रियाटिन, मेटा अज जाह्रा पुत्री, मुहम्मद दिनी अकबर, मुहम्मद अल्लाम नाज्ह्लिफा, एएफआरएल आरएलजेडकेएल, सिफा अलिफा युसुफ, मुहम्मद राफ्दी फौजान, मुमान, मुहम्मद खैरुदिन, बेला ग्रासेभा अमान्दा पुत्री र दिनी अब्दिलाह रहेका छन् ।
लमजुङ ल्याइएपछि उनीहरू ग१ज ३७४० र बा.प्र.०१–००७ ख १६८० नम्बरका सवारीसाधनमार्फत पोखरातर्फ प्रस्थान गरेका छन् ।
लगातारको वर्षाका कारण अन्नपूर्ण पदमार्गसँगै बेँसीसहर–चामे सडकसमेत प्रभावित भएपछि पर्यटकको आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ । सडक तथा पदमार्गको अवस्था सहज नभएपछि उनीहरूको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको हो ।
उद्धार कार्यमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी हबल्दार गुञ्जबहादुर बरामको कमाण्डमा चार जना प्रहरीको टोलीसमेत परिचालन गरिएको थियो ।
