अफगानिस्तानमा हवाई आक्रमण : १० सर्वसाधारणको मृत्यु

आक्रमण उग्रवादी लक्षित भएको दाबी

काठमाडौँ, असोज १६ । अफगानिस्तानका हेलमन्द र कुन्नर प्रान्तमा भएका हवाई आक्रमणमा कम्तीमा १० जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको अफगानिस्तानस्थित सहायता मिसन (यूएनएएमए)ले जनाएको छ । मृतकमध्ये अधिकांश बालबालिका रहेका छन् भने नौ जना घाइते भएका छन् ।

पाकिस्तानले भने अफगानिस्तानमा गरिएको आक्रमण उग्रवादीलाई लक्षित भएको दाबी गरेको छ । पाकिस्तानको सूचना मन्त्रालयले ‘विश्वसनीय खुफिया सूचनाका आधारमा’ दुई स्थानमा रहेका आतङ्कवादी शिविर तथा लुकेका स्थानलाई लक्ष्य गरी आक्रमण गरिएको जनाएको छ । पाकिस्तानले आक्रमणमा २२ उग्रवादी मारिएको तथा हतियार र गोलाबारुद नष्ट गरिएको दाबी गरेको छ ।

यूएनएएमएका अनुसार बिहीबार हेलमन्द र पाकिस्तानसँग सीमा जोडिएको कुन्नर प्रान्तमा भएका हवाई आक्रमणमा सर्वसाधारण हताहत भएका हुन् । संयुक्त राष्ट्रसङ्घले नागरिकमाथि हुने क्षति रोक्न अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना तथा थप तनाव न्यूनीकरणका लागि आह्वान गरेको छ ।

हेलमन्दका स्थानीय बासिन्दाले आफ्नो गाउँमा तीनवटा हवाई आक्रमण भएको बताएका छन् । सफर गाउँका ५० वर्षीय अब्दुल वाहिदका अनुसार आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । अर्का स्थानीय बासिन्दा कुद्रत उल्लाहले आक्रमणमा सर्वसाधारणको घर क्षतिग्रस्त भएको र ठूलो क्षेत्रमा क्षति पुगेको बताउनुभएको छ ।

हेलमन्दको प्रान्तीय राजधानी लस्करगाहस्थित इटालियन गैरसरकारी संस्था ‘इमर्जेन्सी’द्वारा सञ्चालित अस्पतालमा आक्रमणपछि दुई बालबालिका उपचारका लागि भर्ना भएको संस्थाले जनाएको छ ।

कुन्नर प्रान्तको दुर्गम चुगम उपत्यकामा पनि हवाई आक्रमण भएको बताइएको छ । स्थानीय किसान मोहम्मद हाशिमले बिहानै भएको आक्रमणपछि स्थानीय बासिन्दाको उद्धारका लागि आफूहरू घटनास्थलतर्फ गएको बताएका छन् ।

अफगानिस्तान र पाकिस्तानबीच यस वर्षको सुरुआतमा भएको सैन्य तनावपछि मार्चमा युद्धविराम भए पनि सुरक्षा सम्बन्धी विवादको स्थायी समाधान हुन नसक्दा सीमापार हिंसाका घटना जारी रहेका छन् । पाकिस्तानले अफगानिस्तानमा आफूविरुद्ध आक्रमण गर्ने उग्रवादीलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने तालिबान सरकारले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

यूएनएएमएका अनुसार सन् २०२६ मा सीमापार सशस्त्र हिंसाका कारण अफगानिस्तानमा हालसम्म एक हजार एक सयभन्दा बढी सर्वसाधारणको मृत्यु वा घाइते भएका छन् । गत सेप्टेम्बर २१ मा पनि कुन्नर प्रान्तमा भएको हवाई आक्रमणमा कम्तीमा तीन सर्वसाधारणको मृत्यु र चार जना घाइते भएको यूएनएएमाले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *