हिम्लुङ हिमपहिरोमा थप आठ शव भेटिए, मृतकको संख्या १५ पुग्यो
मनाङ, १५ असोज । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको संख्या १५ पुगेको छ। हराइरहेकामध्ये बिहीबार थप आठ जनाको शव भेटिएपछि मृतकको संख्या १५ पुगेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान चार तथा दिउँसो थप चार जनाको शव भेटिएको हो। यसअघि सात जनाको शव फेला परेको थियो। हिमपहिरोमा परी अझै एक जना हराइरहेका छन्।
भेटिएका शवमध्ये दुई जनाको शव सदरमुकाम चामे ल्याइएको छ भने अन्य छ जनाको शव फूगाउँसम्म ल्याइएको पौडेलले जानकारी दिए। रात परिसकेकाले हेलिकप्टर उडान सम्भव नभएकाले बाँकी शव शुक्रबार चामे ल्याइने जनाइएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार केही शव उद्धार गरी ल्याइएको हो। सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा ल्याउने कामसमेत गरिरहेको छ।
हिम्लुङ हिमालको आधार शिविरमा असोज ११ गते बिहान हिमपहिरो गएको थियो। खोज तथा उद्धारका लागि नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)ले ११ सदस्यीय उद्धार दक्ष टोली परिचालन गरेको छ।
