कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए
न्हेचुङ भन्सार यार्ड
काठमाडौँ, असोज १५ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकका विभिन्न स्थानमा बाढीपहिरो र नदी कटानबाट क्षति पुगेपछि चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित न्हेचुङ भन्सार यार्डमा रोकिएका छन् ।
गत शनिबार रातिदेखि परेको वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा क्षति पुगेपछि उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको हो । सडक अवरुद्ध भएपछि भन्सार जाँचपास भइसकेका कन्टेनरसमेत गन्तव्यतर्फ लैजान सकिएको छैन ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भन्सार यार्डमा रहेका १५० भन्दा बढी कन्टेनरमध्ये करिब ९० प्रतिशतको जाँचपास प्रक्रिया पूरा भइसकेको छ । बाँकी कन्टेनरको जाँचपास पनि दुई दिनभित्र सकिने उहाँले बताउनुभयो ।
“सडक अवरुद्ध भएकाले नयाँ कन्टेनर थपिएका छैनन्,” उहाँले भन्नुभयो, “चीनबाट मालवस्तु पैठारी गरिएका कन्टेनर पनि सडकको अवस्थाका कारण तल झर्न सकेका छैनन् ।” तातोपानी र रसुवागढी नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोरलानाका पनि वर्षाका कारण प्रभावित बनेको उहाँले बताउनुभयो ।
दसैँ–तिहार लक्षित मालवस्तु आयात हुने समयमा सडक अवरुद्ध हुँदा राजस्व सङ्कलनमा समेत असर परेको भन्सार प्रमुख चुडालले बताउनुभयो । उहाँका अनुसार गत भदौ १० गते रसुवागढी–केरुङ नाका बाढीका कारण बन्द भएपछि कोरलानाकाबाट दैनिक रु ३० करोडभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको थियो ।
भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट दसैँ लक्षित तयारी सामान, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामग्री, लत्ताकपडा तथा विद्युतीय सवारीसाधन नेपाल भित्रिने गरेका छन् ।
सडक अवरुद्ध हुँदा करिब २०० विद्युतीय सवारीसाधनसमेत गन्तव्यतर्फ जान सकेका छैनन् । सशस्त्र प्रहरी बल ३३ नं गुल्म जोमसोमका अनुसार तीमध्ये १०० भन्दा बढी विद्युतीय सवारीसाधन पाँच दिनदेखि जोमसोम बसपार्कमा रोकिएका छन् ।
यसैबीच, वर्षाका कारण पाँच दिनदेखि अवरुद्ध जोमसोम–कोरला सडकखण्ड आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कालीगण्डकी करिडोर, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिका तथा सुरक्षा निकायको समन्वयमा पहिरो पन्छाउने र सडक सफा गर्ने काम सम्पन्न भएपछि आवागमन सञ्चालनमा आएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका अनुसार पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनीसम्म पाँच, बेनीदेखि अन्नपूर्ण गाउँपालिका-३ रुप्सेसम्म २५ तथा मुस्ताङको काभ्रेभीरदेखि कोरलानाकासम्म १६ स्थानमा बाढीपहिरो र नदी कटानबाट सडकमा क्षति पुगेको थियो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार मालढुङ्गा-गलेश्वर तथा म्याग्दीको दानादेखि कोरलानाकासम्मको सडक मर्मतसम्भारपछि सञ्चालनमा आइसकेको छ ।
म्याग्दी खण्डमा बाढीपहिरोबाट भएको क्षति मर्मत तथा सडक स्तरोन्नतिको काम भने चुनौतीपूर्ण रहेको आयोजना प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार रघुगङ्गा क्षेत्रमा तथा बैसरी १, २ र ३ र सिरुवारी खण्डमा बाढीपहिरोले सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ ।
त्यस्तै, तातोपानी–पोखरेबगर जोड्ने पक्की पुलको एप्रोचसमेत बाढीले बगाएको छ । तातोपानी, खामभित्ता, जलथले, भीरकाँटे र महभीरलगायत स्थानमा सडकमा क्षति पुगेकाले मर्मत गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने आयोजनाले जनाएको छ । सडक मर्मतका लागि आवश्यक उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापनमा समेत समस्या भइरहेको आयोजना प्रमुख शर्माले बताउनुभयो ।
