६० वर्षयताकै ठूलो बाढीमा पनि गैँडाकोट जोगियो, तटबन्धले थाम्यो नारायणीको भेल

नवलपरासी, १६ असोज । नारायणी नदीमा यही असोज ११ गते आएको पछिल्लो ६० वर्षयताकै ठूलो बाढीमा पनि नवलपुरको गैँडाकोटका अधिकांश बस्ती सुरक्षित भएका छन्। नदीकिनारमा निर्माण गरिएको व्यवस्थित तटबन्धका कारण बाढीको डुबान र कटानबाट बस्ती जोगिएको स्थानीयको भनाइ छ।

गैँडाकोटमा नारायणी पुलभन्दा उत्तरतर्फ तटबन्ध नहुँदा वडा नं २ को एउटा बस्ती डुबानमा परेको थियो। तर पुलबाट दक्षिणतर्फ निर्माण गरिएको करिब पाँच किलोमिटर लामो तटबन्धका कारण वडा नं २, ५, ६, ७ र ९ का अधिकांश नदीकिनारका बस्तीमा बाढीको ठूलो क्षति हुन पाएन।

स्थानीय मनोज परियारका अनुसार नदीकिनारमा ठूला ढुङ्गा र पक्की संरचनासहित गरिएको तटबन्धले बस्ती जोगाएको हो। “ढुङ्गा नाघेर नदीको छाल घरसम्म आएको थियो, तटबन्ध नभएको भए ठूलो क्षति हुने थियो,” उहाँले भन्नुभयो।

गैँडाकोट–६ का राजेन्द्र थापाले पनि विगतमा बाढी आउँदा सुरक्षित स्थान खोज्नुपर्ने अवस्था रहे पनि यसपटक ठूलो बाढी आउँदासमेत घरमै सुरक्षित बस्न सकिएको बताउनुभयो। उहाँका अनुसार नदी व्यवस्थापनको कामपछि कटान रोकिँदा नदीकिनारका बासिन्दाको जोखिम घटेको छ।

स्थानीय खगीसरा रानाका अनुसार विगतका बाढीले खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गरेको थियो। “नारायणीको बाढीले मेरो पनि जग्गा लगभग काटेर सक्यो,” उहाँले भन्नुभयो, “पोहोर साल सरकारले यो ड्याम नबनाएको भए घरबारविहीन हुने अवस्था आउन सक्थ्यो।”

सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय चितवनले आर्थिक वर्ष २०८२/८३ मा नवलपुरतर्फ नारायणी नदीकिनारमा बहुवर्षीय योजनाअन्तर्गत व्यवस्थित तटबन्ध निर्माण गरेको हो। गैँडाकोट नगरपालिका–६ का वडाध्यक्ष शुभाष चापागाईँका अनुसार करिब एक हजार ५०० मिटर बिग बोल्डर र करिब पाँच किलोमिटर कङ्क्रिट तटबन्ध निर्माण गरिएको छ।

उहाँका अनुसार नदीकिनारलाई भिरालो बनाउँदै बस्तीभन्दा अग्लो पारेर निर्माण गरिएको तटबन्धका कारण ठूलो बाढीमा पनि बस्ती सुरक्षित हुन सकेको हो। यद्यपि कङ्क्रिट तटबन्धका केही स्थानमा बाढीले क्षति पुर्‍याएकाले त्यसको मर्मत तथा थप व्यवस्थापन आवश्यक रहेको उहाँले बताउनुभयो।

जल मापन केन्द्र देवघाटका अनुसार असोज ११ गते नारायणी नदीमा पानीको सतह बढेर अधिकतम ११ दशमलव ९३ मिटर पुगेको थियो। बस्तीभन्दा अग्लो तटबन्ध निर्माण गरिएकाले नदी तटीय क्षेत्रमा हुने डुबान र कटानबाट गैँडाकोटका अधिकांश बस्ती जोगिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *