रेलेखोलाको बाँधमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द
काठमाडौँ, असोज १६ । बाँधमा बाढी पसेर भौतिक संरचनामा क्षति पुगेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ ।
ह्युम कन्सल्ट प्रालिले प्रवर्द्धन गरेको उक्त आयोजनाको रेलेखर्कको फेदीमा रहेको बाँधमा असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण क्षति पुगेको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीका कारण आयोजनाको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको छ ।
रेलेखर्क क्षेत्रमा पहिरो गएपछि रेलेखोलामा बाढीको सतह बढेर बाँध क्षेत्रमा ठूलो मात्रामा गेग्रान तथा माटो थुप्रिएको छ । बाढीले बाँधका भौतिक संरचनामा समेत क्षति पुर्याएको आयोजनाले जनाएको छ ।
भौगोलिकरुपमा दुर्गम तथा विकट क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोका कारण अवरुद्ध भएको छ । पहुँचमार्ग अवरुद्ध हुँदा बाँधमा थुप्रिएको बाढीजन्य सामग्री हटाउन तथा क्षतिग्रस्त संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन कठिनाइ भएको छ ।
आयोजना सञ्चालनमा नआउँदा विद्युत् बिक्रीबाट हुने आम्दानीसमेत प्रभावित भएको छ । गत वर्ष निर्माण सम्पन्न भएको उक्त आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।
यसैबीच, कालीगण्डकी नदीमा आएको बाढी तथा पहिरोका कारण प्रसारण लाइनका टावर बग्नुका साथै विद्युत्का तारमा समेत क्षति पुगेको छ । प्रसारण संरचनामा भएको क्षतिले विद्युत् प्रसारणमा समेत समस्या उत्पन्न भएको आयोजनाले जनाएको छ ।
