दशैंसम्म नेपालबाट मनसुन बाहिरिने सम्भावना

काठमाडौँ, १६ असोज । नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको मौसमविद्हरूले बताएका छन्। मौसम विज्ञान विभागका अनुसार अहिलेको मौसमी अवस्था हेर्दा यस वर्षको दशैंसम्ममा नेपालबाट मनसुन बाहिरिन सक्ने सम्भावना देखिएको छ।

मौसमविद् बिनु महर्जनका अनुसार नेपालमा अहिले ठूलो वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन। छिमेकी भारतका अधिकांश भूभागबाट समेत मनसुन बाहिरिसकेको अवस्थामा नेपालबाट पनि पश्चिमी भूभाग हुँदै मनसुन बाहिरिने क्रममा रहेको उहाँले बताउनुभयो।

“अहिलेसम्मको संकेत हेर्दा दशैंसम्ममा मनसुन बाहिरिन सक्ने सम्भावना छ,” मौसमविद् महर्जनले भन्नुभयो। यस वर्षको मनसुन गत असार ५ गते पूर्वी नेपालबाट प्रवेश गरेको थियो। नेपालमा सामान्यतया जुन १३ देखि मनसुन सुरु भएर अक्टोबर २ सम्ममा बाहिरिने गर्छ। यद्यपि मनसुन भित्रिने र बाहिरिने औसत मितिमा वर्षअनुसार केही तलमाथि हुने गरेको मौसमविद्हरू बताउँछन्।

यस वर्ष घटस्थापना असोज २५ गते र विजयादशमी अर्थात् टीका कात्तिक ४ गते परेको छ। मनसुन बाहिरिए पनि दशैंका बेला सामान्य प्रकृतिको वर्षा हुनसक्ने सम्भावना भने कायमै रहने मौसमविद्हरूको भनाइ छ।

मौसमविद् विनोद पोखरेलले पनि दशैंका समयमा सिमसिमे वर्षा हुनसक्ने र त्यसका कारण चिसो महसुस हुने सम्भावना रहेको सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *