तनहुँमा चैते धान प्रवर्द्धनमा जोड
प्रविधिमैत्री खेती
काठमाडौँ, असोज १६ । तनहुँमा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई आधुनिक प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
कृषि विकास कार्यालय तनहुँका अनुसार जिल्लामा हाल तीन हजार ८०५ रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको छ । सो क्षेत्रफलबाट करिब ८८६ दशमलव ५६ मेट्रिक टन चैते धान उत्पादन भएको कार्यालयले जनाएको छ ।
चैते धान प्रवर्द्धनका लागि रु ९५ लाख बजेट विनियोजन गरिएकामा रु ८७ लाख ९७ हजार खर्च भएको कार्यालय प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत किसानलाई उन्नत बीउ, कृषि सामग्री, यन्त्र उपकरण तथा सिँचाइ पूर्वाधारमा सहयोग गरिएको छ ।
चैते धानखेतीमा किसानको आकर्षण बढाउन कार्यालयले १३ कृषक समूह तथा कृषि सहकारीलाई कृषि उत्पादन सामग्री र यन्त्र उपकरणमा अनुदान उपलब्ध गराएको छ । कार्यक्रमअन्तर्गत पाँच हजार ३१६ किलोग्राम धानको बीउसमेत वितरण गरिएको छ ।
त्यसैगरी किसानलाई दुईवटा मल्टिक्रप थ्रेसर, एक मिनीटिलर, तीन डिजिटल तराजु, १३ कम्बाइन मिल, छ स्प्रेयर र ३४१ वटा त्रिपाल उपलब्ध गराइएको छ । धान रोपाइँदेखि कटानी तथा प्रशोधनसम्म सहजता हुने गरी कृषि यान्त्रिकीकरणमा सहयोग गरिएको अधिकारीले बताउनुभयो ।
चैते धानखेतीका लागि सिँचाइ सुविधा महत्वपूर्ण भएकाले कार्यक्रमअन्तर्गत दुई हजार तीन मिटर पक्की सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो निर्माणपछि करिब १२ हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार भएको कार्यालयले जनाएको छ ।
कार्यक्रमबाट जिल्लाका ५७६ किसान लाभान्वित भएका छन् । लाभान्वितमध्ये ३०१ महिला र २७५ पुरुष रहेका छन् ।
कार्यालयले चैते धानलाई वर्षे धानको विकल्पका रूपमा मात्र नभई एउटै खेतबाट थप उत्पादन लिन सकिने अवसरका रूपमा प्रवर्द्धन गर्दै आएको छ । धानखेतीको क्षेत्र विस्तार, उन्नत बीउको प्रयोग, कृषि यान्त्रिकीकरण र सिँचाइ सुविधा विस्तारमार्फत उत्पादन बढाउने लक्ष्य लिइएको छ ।
आगामी दिनमा चैते धानखेतीको सम्भावना भएका क्षेत्र पहिचान गरी कार्यक्रम विस्तार गर्ने कृषि विकास कार्यालयले जनाएको छ । चैते धानको उत्पादन बढाउन सके जिल्लाको समग्र धान उत्पादनमा वृद्धि हुनुका साथै किसानको आयआर्जनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
