गाउँमै रोजगारी र आम्दानीको बाटो खोज्दै भोजपुरका युवा

काठमाडौँ, असोज १६ । भोजपुरमा पछिल्लो समय युवा गाउँमै रहेर कृषि तथा पशुपालनलगायतका उद्यम र व्यवसायमा संलग्न हुने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले स्थानीय स्रोतसाधन र सीपको उपयोग गर्दै व्यावसायिक कृषि तथा पशुपालनलाई आम्दानीको माध्यम बनाउन थालेका छन् ।

युवाहरूले अलैँची, किवी, एभोकाडो, ओखर तथा चिराइतो खेतीसँगै बाख्रापालनलगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन् । गाउँमै मेहनत गरेर कृषि तथा पशुपालनबाट आम्दानी गर्न सकिने भएपछि युवाको आकर्षण यसतर्फ बढेको हो । विदेशबाट फर्किएका केही युवाले त्यहाँ सिकेको सीप र अनुभवलाई आफ्नै गाउँमा प्रयोग गरी व्यवसाय सञ्चालन गरिरहेका छन् ।

टेम्केमैयुङ गाउँपालिका ५ चोलन्तीका पुस्कर विष्ट विदेशबाट फर्किएपछि गाउँमै व्यावसायिक बाख्रापालनमा लाग्नुभएको छ । उहाँले सञ्चालन गर्दै आएको ‘पुस्कर कृषि तथा पशुपालन फार्म’मा बोयर र स्थानीय जातका बाख्रा पालिएका छन् । छ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएका विष्टले विदेशमा काम गर्दाभन्दा गाउँमै व्यवसाय गर्दा राम्रो आम्दानी गर्न सकिएको बताउनुभयो ।

“विदेश जानुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्न सके राम्रो आम्दानी हुने रहेछ,” उहाँले भन्नुभयो ।

त्यस्तै, मलेसियाबाट फर्किएका भोजपुरका भीमराज विष्ट पनि गाउँमै कृषि व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँले भोजपुर नगरपालिका ६ मा बाख्रापालनसँगै सुन्तला र कागतीखेती गर्दै आउनुभएको छ । गाउँमै व्यवसाय सञ्चालन गरेर उदाहरणीय बन्न सकिने उहाँको भनाइ छ ।

अर्का युवा लाल विष्टले व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आउनुभएको छ । पछिल्लो समय अलैँचीको मूल्यमा सुधार आएपछि स्थानीय युवा व्यावसायिक खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । उहाँले नयाँ र पुराना गरी करिब ४० रोपनी क्षेत्रफलमा अलैँचीखेती गर्नुभएको छ ।

“व्यावसायिक रूपमा काम गर्दा यहीँ नै राम्रो आम्दानी गर्न सकिने रहेछ,” उहाँले भन्नुभयो, “मिहिनेत गर्न सकियो भने परिवारसँग बसेर वार्षिक रु चार–पाँच लाख कमाउन समस्या छैन । गाउँका धेरै युवा विदेशबाट फर्केर उद्यममा जोडिनुभएको छ ।”

युवाको कृषि तथा पशुपालनमा बढ्दो सक्रियताले स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै उत्पादन र आम्दानीसमेत बढ्न थालेको स्थानीयको भनाइ छ । विदेशबाट फर्किएका युवाले आफ्नै जमिन, स्थानीय स्रोतसाधन र सीपको उपयोग गरी व्यवसाय सञ्चालन गर्न थालेपछि गाउँको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *