कपिलवस्तुमा ट्रक र बस ठोक्किँदा चालकको मृत्यु, ११ घाइते
कपिलवस्तु, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस एकापसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०३–००१ ख ००९९ नम्बरको बस आज बिहान एकापसमा ठोक्किएका हुन्।
ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा बाँकेको खजुरा गाउँपालिका–५ का बस चालक सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ११ यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोरङको कानेपोखरी गाउँपालिका–२ घर भएका ट्रक चालक रुपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।
