कैलालीमा बाघको आक्रमणबाट च्याउ टिप्न गएका एक जनाको मृत्यु
कैलाली, १६ असोज । कैलालीको गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार बाघको आक्रमणमा स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार चौधरीसहित तीन जना आज बिहान करिब ५ बजे सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीमाथि बाघले आक्रमण गरेको थियो।
बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँसँगै वनमा गएका अन्य दुई जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए।
