निजामती विधेयकमा महिनावारी बिदादेखि अवकाश उमेर ६० वर्ष पुर्‍याउने प्रस्ताव

काठमाडौँ, १६ असोज । सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा महिला कर्मचारीलाई महिनावारी तथा रजश्वला बिदा दिने व्यवस्थासहित विभिन्न नयाँ प्रावधान प्रस्ताव गरिएको छ।

सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बिहीबार सङ्घीय संसद्मा दर्ता भएको हो। विधेयकको दफा १२५ मा निजामती कर्मचारीले पाउने बिदामा महिनावारी÷रजश्वला बिदा थप गर्ने प्रस्ताव गरिएको छ।

हाल निजामती कर्मचारीले आठ प्रकारका बिदा पाउँदै आएकोमा प्रस्तावित व्यवस्थासँगै बिदाको सङ्ख्या नौ पुग्नेछ। हाल प्रचलित निजामती सेवा ऐन, २०४९ मा भैपरी, घर, बिरामी, मातृत्व तथा प्रसूति, प्रसूति स्याहार, मृत्यु संस्कार, अध्ययन र असाधारण बिदाको व्यवस्था छ।

प्रस्तावित विधेयकमा निजामती सेवाको पदपूर्तिमा समावेशी समूहका लागि छुट्याइने सिटको प्रतिशत बढाउने व्यवस्था गरिएको छ। खुला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद समावेशी समूहका लागि छुट्याउने प्रस्ताव गरिएको छ।

त्यसमा ४९ प्रतिशतलाई शतप्रतिशत मानी आधा पद महिलाबीच मात्र प्रतिस्पर्धा गराउने व्यवस्था प्रस्ताव गरिएको छ। महिलाका लागि छुट्याइएको पदमा खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, विपन्न खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्ति समूहका महिला उम्मेदवारबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराउने प्रस्ताव छ।

महिला समावेशी पदमा खस आर्यका लागि २७ दशमलव ७ प्रतिशत, आदिवासी जनजाति २५ दशमलव ७, मधेसी १५ दशमलव ३, दलित १२ दशमलव ७, थारू ६ दशमलव ६, मुस्लिम चार, पिछडिएको क्षेत्र चार र अपाङ्गता भएका व्यक्तिका लागि चार प्रतिशत सिट प्रस्ताव गरिएको छ।

महिला समावेशी पदबाहेक बाँकी ५० प्रतिशत समावेशी पदमा आदिवासी जनजातिका लागि ३२ दशमलव ५ प्रतिशत, मधेसी १९, दलित १५ दशमलव ५, विपन्न खस आर्य १०, थारू नौ, मुस्लिम पाँच, पिछडिएको क्षेत्र पाँच र अपाङ्गता भएका व्यक्तिका लागि चार प्रतिशत सिट छुट्याउने प्रस्ताव छ।

अवकाश उमेर ६० वर्ष पुर्‍याउने प्रस्ताव
विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्‍याउने प्रस्तावसमेत गरिएको छ।

तर, नयाँ ऐन प्रारम्भ हुँदाका बखत एकपटकका लागि ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले अवकाश पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

निजामती सेवामा प्रवेशका लागि उमेरसम्बन्धी व्यवस्था भने यथावत् राखिएको छ। विधेयकमा पुरुष उम्मेदवारको उमेर ३५ वर्ष र महिला उम्मेदवारको उमेर ४० वर्ष नपुगेको हुनुपर्ने व्यवस्था कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *