टेकु अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन पक्राउ
काठमाडौँ, १६ असोज । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार असोज १४ गते राति करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा पुगेका उनीहरूले ड्युटीमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज, धाकधम्की दिनुका साथै हातपात गरेका थिए। घटनाको सीसीटीभी फुटेजसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनिहरू पक्राउ परेका हुन् ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरूलाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तीनै जनाविरुद्ध ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
